नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी पुनर्गठनको एजेन्डामा एक ठाउँमा उभिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अहिले पुनर्गठनभन्दा पनि एकताको खाँचो औंल्याएका थिए।
अध्यक्ष ओलीले समीक्षा हुने तर त्यो आफैलाई आलोचना गर्ने, आत्मभर्त्सना गर्ने प्रकृतिको नहुने बताएका थिए। तर उपाध्यक्ष विष्णु पौडेलले त्यही मञ्चबाट पार्टी पुनर्गठन हुने बताएका थिए।
बिहीबार कार्यशाला समापन गर्दै महासचिव पोखरेलले पनि पार्टी पुनर्गठनमै जोड दिए। उनले सचिवालय बैठकको मर्मलाई समात्दै पार्टी जीवनलाई पुनर्गठन र पुनर्व्यवस्थित गरिने बताएको केन्द्रीय सदस्य रश्मी आचार्यले जानकारी दिए।
‘महासचिवले कार्यशाला समापनका क्रममा सचिवालय बैठकको निर्णयको सन्दर्भ राख्नुभएको थियो। जनताका बीचमा जाने कुरालाई नै उहाँले महत्त्वका साथ उठाउनुभएको थियो,’ आचार्यले भने, ‘चुनावी परिणाम जे जसरी आएको छ, त्यसलाई आत्मसात गर्दै पार्टी पुनर्गठन र पुनर्जागृत गर्नुपर्छ भन्ने नै उहाँको सम्बोधनको अन्तर्य थियो।’
पार्टी पुनर्गठनका सन्दर्भमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अहिले एक ठाउँमा उभिएका छन्। चुनावी परिणामलगत्तै उनीहरूबीच पार्टी पुनर्गठनमा समझदारी जुटेको त्यतिबेलै नेताहरूले बताएका थिए।
आठौं सचिवालय बैठकमा त्यो प्रकट पनि भएको थियो। यसमा संस्थापन इतरसमूहको पनि साथ छ।
आठौं सचिवालय बैठकले पुनर्गठनसम्बन्धी सुझाव प्रस्तुत गर्न रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ। त्यसले एक महिनाभित्र सुझाव पेश गर्नेछ। अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसबारे छलफल हुनेछ।
कार्यशालामा सहभागीहरूलाई १० वटा समूहमा बाँडेर छलफल गरिएको थियो। प्रदेशगत रूपमा समूह नेताहरूले आआफ्नो समूहको निष्कर्षसमेत बन्दसत्रमा राखेका थिए।
प्रस्तुति राख्ने क्रममा लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी आन्दोलन पुनर्गठन र पुनर्व्यवस्थित नगरी तल जान नसकिने धारणा राखेको एक नेताले बताए।
‘आफ्नो समूहको प्रस्तुति राख्नेक्रममा उहाँले पार्टी पुनर्गठन नगरी जनताको बीचमा जान नसकिने कुरा राख्नुभएको थियो,’ ती नेताले भने।
मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले चुनावको बेला अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले तराई–मधेसको भावनामा आघात पुगेको र पार्टीले क्षति व्यहोर्नुपरेको धारणा राखेका थिए।
अध्यक्ष ओलीले त्यतिबेला महोत्तरीलगायत भू-भागमा गुइँठा प्रयोग गर्ने गरेको बताउँदै झापालाई पनि त्यस्तै बनाउन खोजेको हो भनेका थिए। उनको अभिव्यक्ति वालेन्द्र शाहतर्फ लक्षित थियो।
त्यस अभिव्यक्तिले मधेसवासीको आत्मसम्मानमा चोट पुर्याएको र एमालेको भोट घटाएको उनको निचोड थियो।
मण्डलले सचिव महेश बस्नेतको अभिव्यक्तिप्रति पनि प्रश्न उठाएका थिए। वालेन्द्र शाहले जनकपुरको सभामा सम्बोधन गर्ने क्रममा मधेसीया छौरा (छोरा) भनेको सन्दर्भलाई तोडमोड गरी गलत अर्थ लगाएकाले आफूहरूलाई अप्ठ्यारो परेको, चुनावी परिणाममा एमाले कमजोर बनेको मण्डलले बताएका थिए।
अरू समूहका नेताहरूले पनि समूह प्रस्तुति राख्नै पार्टी रूपान्तरण र पुनर्गठनलाई बल पुग्नेगरी धारणा राखेको नेताहरूले बताएका छन्।