राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब पार्टी बन्ने बाटो पूरा भएको बताएका छन्।
राप्रपा परित्याग गरेका धवल शम्शेर राणालगायत नेताहरूलाई ऐँजुरूको संज्ञा दिएका उनले अब पार्टी थप बलियो हुने दाबी गरेका हुन्।
राप्रपा गोरखा जिल्ला अधिवेशन उद्घाटन गर्दै आज लिङ्देनले भने, ‘पार्टी जीवनमा सानातिना कुरा आउँछन्, स्थापना कालदेखि नै त्यस्ता प्रवृत्ति देख्यौं, त्यसको अन्तिम कडीका रूपमा हालै केही साथीहरूको बहिर्गमनलाई देखेका छौं, जसले ऐँजेरूका रूपमा काम गरिराखेका थिए। खुट्टामा ऐँजेरू थियो काटेर फालौं आफ्नै जीउको, नफालौं जुत्ता लगाउन गाह्रो भइरहेको बेला आफै छाडेर गए।’
उनले धवल शम्शेरलगायतलाई लक्ष्य गर्दै चुनावमा उम्मेदवार नबन्ने र मत माग्न पनि नगएकाहरूले पार्टी छाड्दा केही पनि नहुने बताए। ‘यो पार्टीलाई राष्ट्रिय पार्टी बन्न दिन हुन्न भन्नेहरूले पार्टी छाडेर गए त के भयो,’ उनले प्रश्न गरे।
धवल शम्शेरसहित १८६ जना नेताहरूले बिहीबार सामूहिक राजीनामा दिएका थिए। उनीहरू नयाँ पार्टी खोल्ने तयारीमा छन्।