राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज विभिन्न जिल्लामा अधिवेशन गर्दैछ।
पार्टीको संगठनात्मक नीति अनुरुप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम शनिबार र आइतबार जिल्ला अधिवेशन हुन लागेको हो।
आज ३७ वटा जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
कोशीका ८ जिल्लाहरू;झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसका दुई जिल्लाहरू महोत्तरी र रौतहट, बागमतीका ९ जिल्लाहरू; दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकीका ५ जिल्लाहरू; स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी,लुम्बिनी प्रदेशका ८ जिल्लाहरू; गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्लाहरू; कालिकोट र सल्यान, सुदुरपश्चिमका तीन जिल्लाहरू; बैतडी, बझाङ र दार्चुलामा अधिवेशन हुन लागेको हो।
संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुँदैछ।
यस तालिका अनुसार पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ।
योसंगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गरिने बुर्लाकोटीले जानकारी दिए।
प्रदेश अधिवेशन जेठ २६ गतेदेखि हुनेछ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुनेछ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।