राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। प्रतिस्पर्धीलाई झन्डै सात गुणा मतले पछि पार्दै उनी जिल्ला सभापति चुनिएका हुन्।
शनिबार भएको जिल्ला अधिवेशनमा कुल ३२५ मत खसेकोमध्ये गजुरेलले २५७ मत ल्याएर सभापति निर्वाचित भए। प्रतिस्पर्धी शरण महतले ३७ र राजु लामिछानेले २८ मत मात्रै प्राप्त गरेका थिए।
२०५७ सालमा जन्मिएका गजुरेलले २१ वर्षकै उमेरमा जिल्ला कमिटीको तदर्थ नेतृत्व सम्हालेका थिए। २०७९ सालमा पार्टी स्थापना भएकै वर्ष उनले जिल्लाको नेतृत्व गरेका थिए।
'त्यति बेला अनुभवको कमी थियो। अहिले रास्वपा बृहत् भइसकेको छ। संघीय संसदका दुवै सिट जितेका छौं,' उनले सेतोपाटीसँग भने, 'अब यो उपलब्धिलाई स्थानीय तहसम्म लैजान्छौं। स्थानीय तह निर्वाचनमा पार्टीलाई अझ उचाइमा पुर्याउँछौं।'
उनले निर्वाचन प्राविधिक विषय भएकाले सबैलाई समेटेर अघि बढ्ने पनि जानकारी दिए।
उनका अनुसार नुवाकोटमा रास्वपा बलियो बन्दै गएको छ। जिल्लाsf ८८ वटा वडा, १२ वटा पालिकामध्ये सबै ठाउँमा रास्वपा विस्तारित छ।
'सबै वडा र पालिका तहको संरचनामा हामीले अधिवेशन गरेर नयाँ समिति बनाएका छौं। हामी स्थानीय तह निर्वाचनमा केन्द्रित भएका छौं,' उनले भने।
अधिवेशनबाट कृष्णलाल श्रेष्ठ १७३ मत ल्याएर उपसभापतिमा निर्वाचित भए। सचिवमा १९४ मत ल्याएर वसन्त धिताल निर्वाचित भए।
जनजाति सदस्यतर्फ छोपेन तामाङ (१७२), महिलातर्फ लक्ष्मी पाण्डे (२५७), जानुका सापकोटा (१८६), राधिका रिमाल (१४०), खुला सदस्य क्षेत्र नम्बर १ मा विपना पाण्डे (१२८), क्षेत्र नम्बर २ मा सुवास भण्डारी (९७) निर्वाचित भएका छन्।