गृहमन्त्रीबाट राजीनामा दिएको दुई महिनापछि सुधन गुरूङले आफू फेरि गृहमन्त्री बने दुई महिनासम्म तस्बिर खिच्न नआउन अनुरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसले गृहमन्त्रीका रूपमा उनको फिर्तीलाई लिएर चासो बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार आयोजित गोरखा जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै गुरूङले उक्त अभिव्यक्ति दिएका हुन्।
उनले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भनेका थिए।
'यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,' उनले भने।
सम्पत्ति र सेयर लगानीको स्रोतमा प्रश्न उठेपछि सुधन गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि गृह मन्त्रालयलाई प्रधानमन्त्री बालेन शाहले आफू मातहत नै राखेका छन्। गुरूङले राजीनामा दिएको दुई महिनासम्म गृह मन्त्रालयजस्तो आन्तरिक शान्ति सुव्यवस्था मामिला हेर्ने निकायमा अर्को मन्त्री नियुक्त नगरिनुले पनि कतै प्रधानमन्त्री शाहले गृहमन्त्रीका रूपमा गुरूङलाई नै भित्र्याउन चाहेका हुन् कि भन्ने प्रश्न उठेको थियो।
हामीले यसबारे मन्त्रिपरिषदका केही सदस्यसँग कुराकानी गर्दा उनीहरूले अर्को व्यक्तिलाई गृहमन्त्री बनाउनेबारे कुनै छलफल नभएको बताएका थिए।
त्यस्तै, सत्तारूढ रास्वपाका केही नेतासँग यसबारे सोध्दा उनीहरूले पनि गृह मन्त्रालयको जिम्मेवारी दिएर कसलाई पठाउने भन्ने एजेन्डामा अहिलेसम्म छलफल नै नभएको बताएका थिए।
हामीले कुराकानी गरेका मन्त्रिपरिषदका सदस्य तथा पार्टीका नेताहरूलाई सुधन गुरूङको सम्पत्ति स्रोत छानबिन गर्न बनेको समिति प्रतिवेदनको पर्खाइ थियो। छानबिन समितिले गुरूङलाई 'क्लिनचिट' दिएको अवस्थामा उनी नै गृहमन्त्रीका रूपमा फर्किने सम्भावना रहेको उनीहरूको भनाइ थियो।
सरकारले पूर्वगृहमन्त्री गुरूङको सम्पत्ति स्रोत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिलाई १५ दिनभित्र रिपोर्ट बुझाउन कार्यादश तोकिएकोमा पछि ५ दिन थपियो।
समितिले आफ्नो प्रतिवेदन शुक्रबार सरकारलाई बुझाइसकेको छ। प्रतिवेदन सार्वजनिक भने गरिएको छैन।
यसरी छानबिन समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा गृहमन्त्री गुरूङबाट आफू फेरि गृहमन्त्री बने दुई महिनासम्म तस्बिर खिच्न नआउनू भन्ने अभिव्यक्ति सार्वजनिक हुनुले त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको हो।
हामीले छानबिन समितिको प्रतिवेदनमा के छ भनेर समितिका दुई जना सदस्यसँग कुरा गरेका छौं।
उनीहरूका अनुसार समितिले पूर्वगृहमन्त्री गुरूङको १० वर्षयताको आम्दानी, खर्च र राजस्व तिरेको हिसाबकिताब हेरेको थियो। यसरी १० वर्षको हिसाब हेर्दा उनको नाममा देखिएको सम्पत्तिमा 'ठूलो कैफियत नदेखिएको' उनीहरूले बताएका छन्।
'हामीले ४७ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएका छौं,' एक सदस्यले भने, 'उनको नाममा भएको जग्गा र सेयरमा खासै ठूलो कैफियत केही देखिएको छैन। तर उनीसँग भएको सुन र उनले लिएको ऋणबारे थप अनुसन्धान गर्न भ्याइएन।'
गुरूङले मन्त्री भएपछि बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग झन्डै ८९ तोला सुन रहेको देखिएको थियो। त्यो सुन आफ्नो पैतृक सम्पत्ति भएको गुरूङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। यसै आधारमा छानबिन समितिले पनि सुन पैतृक सम्पत्तिका रूपमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
'सुन कहिले किनेको, कति मूल्यमा किनेको भन्ने विवरण नभए पनि पैतृक सम्पत्तिका रूपमा देखिएको छ,' समितिका एक सदस्यले भने, 'हामीले आफ्नो सुझावमा एउटै व्यक्तिसँग यति धेरै सुन हुनु खतरा हुन सक्ने भनेर लेखेका छौं।'
त्यस्तै, गुरूङले लिएको ऋण पनि बैंकिङ च्यानलबाट नलिएको समितिले औंल्याएको छ। उनले ऋण लिएका व्यक्तिसँग समितिले बयान लिएको ती सदस्यले जानकारी दिए।
उनका अनुसार गुरूङ अहिलेसम्म ८ वटा संस्थामा संलग्न रहे पनि तीनमध्ये ४ वटा संस्था मात्र सक्रिय छन्।
'उनले विभिन्न कम्पनी र सेयरमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएको देखिन्छ,' छानबिन समितिका अर्का एक सदस्यले भने, 'बाहिर मिडियामा आएजस्तो स्रोत नै नभएको सम्पत्ति देखिएन।'
गुरूङले एनआरएन इन्फ्रास्ट्रक्चरको ५३ लाख रूपैयाँ सेयर किनेको भए पनि अहिले त्यसको बजार मूल्य ३६ लाख मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, धनकुटामा उनले किनेको जग्गामा वास्तविक मूल्य र तिरेको पुँजीगत लाभकर फरक परेको प्रतिवेदनले औंल्याएको छ।
सुधन गुरूङले गृहमन्त्रीका रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा आफ्नो स्वामित्वमा रहेको सेयर विवरण पनि खुलाएका थिए। त्यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० लाख रूपैयाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका थिए भने लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका थिए। त्यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका थिए।
उनले पूर्ण विवरण खुलाएका यी तीनैवटा कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्।
त्यसबाहेक धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको विवरण गुरूङले दिएका थिए। यो भनेको स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको मूल्य हो।
गृहमन्त्री गुरूङले धितोपत्र बजारमा कारोबार हुने यी कम्पनी कुन-कुन हुन् भनेर आफ्नो सम्पत्ति विवरणमा भनेका छैनन्। उनले पूर्ण विवरण नखुलाएका यी सेयरमध्ये ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर दोस्रो बजारबाट किनेका हुन् भने बाँकी २ करोड २१ लाख २२ हजार ६२० रूपैयाँको सेयर प्राथमिक बजारबाट वा संस्थापक सेयर किनेका हुन्।
यति मात्र होइन, गृहमन्त्री गुरूङ सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा पक्राउ परेका दीपक भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स गरी कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा सेयर लगानीकर्ता रहेको खुलेको छ।