राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा गोरखा २ का सांसद कबिन्द्र बुर्लाकोटीले आफूले कहीँ सहकारी नठगेको बताएका छन्।
एक सहकारीमा ३ महिना सञ्चालक रहँदा आफ्नो २३ लाख रुपैयाँ फसेको उनको भनाइ छ।
‘मैले कहीँ सहकारी ठगेको छैन, बरू त्यो सहकारीमा जम्मा ३ महिना मलाई सञ्चालक राख्दा मेरो २३ लाख रुपैयाँ त्यो सहकारीमा फसेको छ,’ रास्वपा गोरखा जिल्ला अधिवेशन उद्घाटन गर्दै आज उनले भने, ‘मैले सहकारी ठगेको छैन, कसैको एक रुपैयाँ लिएको छैन।’
उनले कुन सहकारीमा सञ्चालक रहेको र पैसा फसेको भन्ने भने खुलाएका थिएनन्।
उनले ५ वर्षभित्र देशमा २ हजार उद्योग खोल्ने पनि बताएका छन्।
‘यो पाँच वर्षभित्रमा २ हजार उद्योग खोल्ने मेरो सपना होइन, अहिले देश, सरकार, रास्वपा र सरकारको सपना हो, उद्योग खोल्ने कसको सपना छैन?,’ उनले प्रश्न गरे, ‘सपना देखेर उद्योग खोलौं भन्दा पनि एउटै भारीले थिचेर उठ्न नसक्ने बनाउने, त्यो सम्भव छैन। देशभर ५ वर्षमा सरकारले, सरकार र निजी लगानीले दुई हजार उद्योग खोल्छौं, ढुक्क हुनुस्।’
दुई हजारमध्ये २०/३० उद्योग भने गोरखामा खुल्ने उनले बताए।
‘दुई हजार उद्योग सबै गोरखामा खुल्ने भनेको पनि होइन,’ उनले भने, ‘यहाँको उद्योगमा यहीँका मानिसलाई रोजगारी र उत्पादन विदेश पठाउन सकियो भने हामी धनी हुन सक्छौं।’