सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार गठनपछि पहिलो पटक आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरूसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी नहुने भएका छन्।
सभापति लामिछानेले संसदमा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्। यो बैठक सिंहदरबारमा केहीबेरमा सुरू हुँदैछ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित २ जनालाई आमन्त्रण गरिए पनि दलका शीर्ष नेता भने सहभागी नहुने देखिएको छ।
नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वर्षमान पुन जाने भएका छन्।
कांग्रेसले संसदीय दल नेतासहित २ जना बैठकमा सहभागी हुने जनाएको छ। ‘संसदीय दलबाट नै सर्वदलीय बैठकमा सहभागी हुने कुरा भएको छ,’ कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भने।
कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री बालेन शाहले सर्वदलीय बैठक आह्वान गरेको भए सभापति गगन थापा सहभागी हुने सम्भावना रहन्थ्यो।
‘सत्तारूढ दल सभापतिले किन सर्वदलीय बैठक राख्नुभएको थाहा छैन, एक्कासि निमन्त्रणा मात्रै आयो,’ एक पदाधिकारीले भने, ‘हामीले विज्ञप्ति निकालेर सबै विषयवस्तुमा प्रष्ट पार्दै आएका छौं, नयाँ कुरा भन्नुपर्ने केही पनि छैन, भए पनि संसदीय दल नेताले कुरा राख्नु भइहाल्छ।’
प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले लगातार संसद अवरूद्ध गर्दै आएका छन्। यसै सन्दर्भमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन्।
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी नहुने भएका छन्। स्वास्थ्यका कारण प्रचण्ड सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको छ।
‘उहाँ ठीक भइसक्नुभएको छैन, औषधि पनि सकिएको छैन। नियमित भेटघाट, पार्टीका गतिविधिमा पनि सहभागी हुनसक्नुभएको छैन,’ प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि आफू बैठकमा सहभागी हुने बताए। ‘युवाहरूलाई अघि बढाउने भनिएको होइन? त्यसैले म सर्वदलीय बैठकमा सहभागी हुँदैछु,’ उनले प्रतिक्रिया दिए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्।
साथै बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने भएका छन्।
बैठकमा रास्वपाबाट सभापति लामिछाने, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा पनि सहभागी छन्।
सर्वदलीय बैठकमा कानुन मन्त्री सोबिता गौतम पनि सहभागी छिन्।