राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दुई वटा विषयमा छलफल भएको छ।
हालै भारतको भ्रमणबाट फर्किएका लामिछानेले दुई वटा विषयमा छलफल र सुझाव लिनका लागि सोमबार सिंहदरबारमा बैठक डाकेका थिए।
बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार दुई वटा विषयलाई केन्द्रमा राखेर छलफल भएको हो।
भारत भ्रमणबारे जानकारी गराउने र सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी/सुझाव लिनका लागि बोलाइएको उनले बताए।
‘पहिलो कुरा सबै दललाई भेटघाट गरेर राम्रो सुरूवात भएको छ, यसले निरन्तरता पाओस् भन्यौं,’ बैठकबाट बाहिरिँदै उनले पत्रकारहरूसँग भने, ‘भारत भ्रमणको सन्दर्भमा भने हामीले जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भन्यौं।’
भारत भ्रमणको सन्दर्भमा सरकारका केही कामहरू ठीक नभएको पनि उनले बताएका थिए।
‘गणतीय हिसाबले प्रतिपक्षी कमजोर छौं। विकल्पहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् प्रारम्भिक लक्षणहरू ठिक देखिएको छैन भन्यौं,’ उनले भने।
उनले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि बताए।
‘वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू देखाउन भएन। देश जित्नेको मात्रै होइन हार्नेको पनि हो। सरकारले गर्ने गलत कृयाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ। त्यसकारण परिपक्व व्यवहार गरियोस्। चाहे प्रधानमन्त्रीले सीमासम्बन्धमा दिएको मन्तव्य होस् अथवा रास्वपाको सवालमा परराष्ट्रमन्त्री भारतमा गएर हामीले विगतको भारी बोक्दैनौं भन्नुभएको कुरा होस्। त्यसले धेरै अर्थ राख्छ। सुझाव राख्यौं,’ उनले भने।
साथै, परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा ‘पूरानो भारी नबोक्ने’ भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको बताए।
‘हामीले लिम्पियाधुरा, लिपुलेक कालापानी हाम्रो हो भनेर ऐतिहासिकता तथ्य प्रमाणको आधारमा सर्वसम्मतिले संविधानमा राखेको कुरा छ। त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ,’ उनले भने।
त्यसैगरी रवि लामिछानेले भारत भ्रमणको क्रममा पाएको सत्कारलाई सदुपयोग गर्न पनि दलका नेताहरूले सुझाव दिएको बताए।