संसदको गतिरोध अन्त्य गर्नका लागि जारी सर्वदलीय बैठकमा छलफल भइरहेको छ।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा आज सर्वदलीय बैठक बसेको हो।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्यका लागि रास्वपा सभापति लामिछानेले छलफल गरेका छन् र बैठक जारी छ।
साथै समसामयिक राजनीतिका विषयमा छलफल भएको छ।
बैठकमा रास्वपा सभापति लामिछानेले हालै भएको भारत भ्रमणबारे जानकारी गराएको बुर्लाकोटीको भनाइ छ।
‘समसामयिक राजनीतिका विषयमा छलफल जारी छ। सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरू गरेकोमा स्वागत गर्दै राजनीतिक बिषयमा छलफल भएको छ,’ उनले भने।
प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्। आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक साढे १२ बजेसम्म बस्न सकेको छैन।
बैठकमा नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, रास्वपाबाट सभापति लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
त्यस्तै कानुन मन्त्री सोबिता गौतम पनि सर्वदलीय बैठकमा सहभागी छिन्।