एक वर्षअघि सुधन गुरूङ राजनीतिलाई 'थुक्ने' कुरा गर्थे।
'के हो यो पोलिटिक्स भनेको यार? यस्तो पनि पोलिटिक्स हुन्छ,' उनी भन्थे, 'थुक्छु यार यस्तो पोलिटिक्सलाई!'
आज उनी भन्दैछन्, 'हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन।'
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उदाएका गुरूङ अहिले गृहमन्त्री छन्। यो एक वर्षमा उनले राजनीति, राष्ट्रपति, संविधान, चुनाव, सरकार र आफ्नै सम्पत्तिबारे दिएका अभिव्यक्तिले पटक पटक चर्चा र विवाद जन्माए।
उनले राष्ट्रपतिलाई शितल निवासबाट थुत्ने चेतावनी दिए। संविधान खारेज गर्ने कि नगर्ने भनेर १५ मिनेटमा निर्णय गर्नुपरेको बताए। चुनाव हुन नदिने घोषणा गरे। आफूलाई भोट हालेर जिताएका नागरिकलाई 'भोट फिर्ता लैजान' समेत भने।
एक वर्ष। एउटै व्यक्ति। तर अभिव्यक्तिका थुप्रै रूप।
यो सुधन गुरूङको पछिल्लो एक वर्षको बोलीको कथा हो। हामीले पछिल्लो एक वर्षमा उनले दिएका अभिव्यक्तिहरू समेटेका छौं।
२०८२ भदौ २६ — 'के हो यो पोलिटिक्स भनेको यार?'
दिमागमा धेरै स्ट्रेस भइसक्यो, एकदमै। (भावुक हुँदै) कसले पोलिटिक्स खेल्छ, कसले के खेल्छ? आफूलाई देश मात्रै बनाउन इच्छा छ। आफूलाई अरू केही इच्छा नै छैन। देश राम्रो होस्, सबै जना राम्रो हुन्छ भनेर सोच्छु। सबै जना पोलिटिक्स खेल्छ।
के हो यो पोलिटिक्स भनेको यार?
पोलिटिक्स भनेको देश बनाउने होइन र? के आफ्नो स्वार्थ गर्न पोलिटिक्स खेल्ने हो र? यस्तो पनि पोलिटिक्स हुन्छ, थुक्छु यार यस्तो पोलिटिक्सलाई त!
कस्तो खालको पोलिटिक्स हो यार? म त बुझ्नै सक्दिनँ। कसम भनेको।
'रामचन्द्र पौडेललाई थुत्ने पहिलो हात मेरै हुन्छ'
त्यसै दिन पुरूषोत्तम यादव, जेम्स कार्की, ओजस्वी भट्टराई लगायत युवाहरू रहेको समूहमा सेनाका एक उच्च अधिकृतसँग फोनमा कुराकानी गर्दै सुधन गुरूङले भनेका थिए —
आज तपाईंको १०-११ बजेभित्र डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौं दाइ। नेपाली जनता सबैले घेराउ गर्छौं। हजुरहरूले सुटिङ गर्नुहुन्छ होला आफ्नो ठाउँमा छ। यत्तिकै मर्ने, उत्तिकै मर्ने हो दाइ। म अहिले आह्वान गर्दैछु। अस्ति राष्ट्रपतिलाई छोएका थिएनौं। यति मात्रै कारणले हो।
नेपाल आर्मीले प्रयास गरिरहेको छ। मैले देखिरहेको छु। चिफसाबले पनि प्रयास गरिराख्नुभएको छ। १० घन्टा भइसक्यो प्रयास गरिरहेको देखेको छु।
तर अझै पनि रामचन्द्र पौडेलले नेपाली कांग्रेसको भएकाले राजनीति खेलेको छ दाइ। मेरो देशको सवाल छ दाइ, म गोली खान तयार छु। हामी सबै तयार छौं। १०-११ बजे भित्र डिसिजन भएन भने हामी अगाडि बढ्छौं।
अब पनि भएन भने रामचन्द्र पौडेललाई थुत्ने पहिलो हात मेरो नै हुन्छ। मैले भनिसकेँ।
२०८२ भदौ २९ — 'के हो राष्ट्रपति? राष्ट्रपति तब रहन्छ, जब हामी भन्छौं रहन्छ भनेर'
तपाईंको फेक भारतीय सुधन गुरूङ मै हो है। यही हो। म नेपालको छोरो हुँ, मलाई भारतीय भन्ने काम नगर्नुहोला।
कुनै मिडिया, कुनै व्यक्तिले मेरो डिग्निटीमा प्रहार गर्ने काम चाहिँ नगरिदिनुहोला। प्लिज है।
म एउटा झन्डामुनि छु। त्यो मेरो देशको हो। कहिले बारबरा फाउन्डेसन भनेको छ, कहिले फ्रि-टिबेट भनेको छ। कहिले चाइनिज भन्छ। हो आँखा त्यस्तै छ, तैपनि लडिरहेका त छौं नि।
राष्ट्रपतिकहाँ पुग्यो कुरै हुँदैन। यो त रिभोलुसन हो। यो हाम्रो सरकार हो। अब त जतिखेर पनि भेट्न पाउनुपर्यो नि!
पहिले प्रधानमन्त्री भेट्न कति प्रोटोकल फलो गर्नुपर्थ्यो। अहिले प्रोटोकल फलो गर्नुपरेको छ? यो हो नयाँ नेपाल। हुनुपर्ने नेपाल पनि यही नै हो। मेरो भाइहरू जेनजी ग्रूप लडेको पनि यही हो। राष्ट्रपति वार्तामा बोलाउँछ एक्लै बोलाउँछ। म त जान्नँ।
मैले बाजे खै भनेँ। मैले राष्ट्रपति पनि भनिनँ। बाजे खै भनेँ। मलाई आउँदैन। के हो राष्ट्रपति? राष्ट्रपति तब रहन्छ, जब हामी भन्छौं रहन्छ भनेर।
एकदमै ठूलो सचिव रहेछ। राष्ट्रपति अहिले लिएर आएपछि मात्रै वार्तामा बस्छु भनेँ।
२०८२ भदौ ३० — 'यो ओमप्रकाश के हो? लयर हैन!'
प्रधानमन्त्री निवास बालुवाटार अगाडि राति सडकमा सुधन गुरूङले भनेका थिए —
अहिले सबभन्दा पावरफूल भनेको नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका थियौं नि, त्यो ठाउँबाट थुतेर निकाल्न सक्छौं।
यो ओमप्रकाश के हो? लयर हैन! यसले आफै गृहमन्त्री श्रीहमन्त्री बनाउँदो रहेछ भित्र बसेर। म चाहिँ लास–सासमा हिँडिरहेको थिएँ।
२०८२ असोज ५ — 'संविधान खारेज गरिदियो भने लिम्पियाधुराहरू सबै जान्छ'
सिंहदरबारमा केही मिडियाहरूसँग कुराकानी गर्दै —
देशको रेस्पन्सिबिलिटी म एक्लैमाथि थियो। राष्ट्रपति निवास जाँदा म एक्लै थिएँ।
हाम्रो लयर रमण कर्ण हुनुहुन्छ, उहाँले प्रस्ट देख्नुभएको छ मैले कत्ति ढोगेको छु भनेर। त्यतिखेरको समयमा संविधान खारेज गर्ने भन्ने कुराहरू आइरहेको थियो नि। तर १५ मिनेटमा डिसाइड गर्नुपर्छ माग के हो भनेर। माग त जनताको मैले एक्लै डिसाइड गर्न मिल्दैन नि त। धेरै समस्या छ।
संविधान खारेज गर्ने कि नगर्ने? संविधान खारेज गर्यो भने के हुन्छ? नगर्यो भने के हुन्छ? जे जस्तो भए पनि लिम्पियाधुरा हाम्रो हो भन्ने थाहा छ। त्यसले गर्दा पनि संविधान खारेज गर्ने माग अगाडि राख्न सकिनँ। किनकि मैले त्यहाँको मान्छेको पनि सोच्नुपर्ला नि त। काठमाडौंको मान्छेको मात्रै नेपाल होइन होला, सुदूरपश्चिम नेपाल हो, पूर्व–पश्चिम नेपाल हो।
त्यो एउटा कुराले गर्दा चाहिँ मैले के सोँचे भन्दा संविधान चाहिँ खारेज गर्न हुँदैन। खारेज गरिदियो भने लिम्पियाधुराहरू सबै जान्छ। राष्ट्रपति जान्छ। इन्डिया बोर्डरमा छ भनिराछ।
इन्डियाबाट अट्याक गरेर लिन सक्छ भनिराछ। ममा यस्तो प्रेसर थियो कि, नगरौं इन्डियाले यता अट्याक गर्ला। के होला भन्ने डर! देशै जाला भन्ने डर! गरौं फेरि सबै नेता आउला भन्ने डर। अनि मैले बरू देशै बचाउँछु भनेर सोचेँ।
२०८२ माघ १ — ' फागुन २१ मा हामी चुनाव हुनै दिँदैनौं'
कान्तिपुरको फायरसाइडमा पत्रकार रूपेश श्रेष्ठसँग कुराकानी —
फागुन २१ गतेको निर्वाचन हुन्छ कि हुँदैन?
हुँदैन। हामी हुनै दिन्नौं। किन हुन दिन्नौं भन्दा, चुनावको मात्रै म्यान्डेट हो भने पहिले नै भन्नुपर्थ्यो। तपाईंहरूको यो माग पूरा हुँदैन त्यही भएर म हजुरको सरकारमा बस्न सक्दिनँ।
प्रधानमन्त्रीले नियुक्ति लिएपछि त भन्नुभएकै हो नि, म फागुन २१ गते निर्वाचन गराउँछु। नयाँ प्रतिनिधिसभा आउँछ। त्यो प्रतिनिधिसभाले जेनजीको माग पूरा गर्छ।
ल हेर्नुस्। हाम्रो माग पूरा गर्नलाई, संविधान संशोधन गर्नलाई। संविधान संशोधन गर्न दुई–तिहाइ चाहिन्छ। प्रतिनिधिसभामा। you expect, everyone expects, including our ministers, प्रधानमन्त्रीले पनि expect गर्नुहुन्छ कि।
हाम्रो माग पूरा गर्नका लागि लड्यौं लड्यौं। फेरि लड्नु। त्यो पनि कोसँग भन्दा जसको पार्टीसँग फन्ड छ। पोलिटिक्समा उहाँहरूले पिएचडी हान्नुभएको छ। सबै राजनीति नेपाललाई कसरी घुमाउने, कसरी पैसा खानेमा मास्टर्स डिग्री गर्नुभएको छ। यस्ता खुँखार अपराधीसँग लड्न पर्ने। शाम, दाम, दण्ड, भेद सबै लगाएर पावरमा पुग्नेहरूसँग लड्नु एउटा कुरा। त्यसमाथि जेनजीहरूले तीन महिनामा स्ट्रक्चर बनाउन पर्ने। पोलिटिकल अवेरनेस सबैमा हुनुपर्ने।
अनि, प्रतिनिधि सबै जितेर आउनुपर्ने। अनि दुई-तिहाइ बहुमत जितेर आफ्नो माग पूरा गर्नुपर्ने? ३६ वर्षमा बनाएको संयन्त्रलाई ढाल्न तीन महिना दिएर हुन्छ?
२०८२ चैत ३० — 'मर्दा गरिब मर्नु तिम्रो गल्ती हो'
सम्पत्ति विवरण सार्वजनिक भएर आलोचना भएपछि गुरूङले सामाजिक सञ्जालमा लेखेका थिए —
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनुअगाडि बिनाभ्रष्टाचार कमाउनु पाप होइन। सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। चेतना भया!'
यसै सम्बन्धमा पछि उनले भने — 'सम्पत्ति पैतृक हो, अंशबन्डा हुन बाँकी छ।'
२०८३ साउन ३१ — 'चार महिनामा कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुस् फिर्ता'
एक जना गोरखाका स्थानीयले चुनाव बेला सुधनले बोलेको प्रसंग उठाउँदै सोधेका थिए, 'चुनावमा आउँदा यहाँ ल्याबका लागि बोलेर जानुभएको याद छ हजुरलाई? त्यसको लागि बजेट खोइ? हजुरले त्यस बेला यहीँबाट स्वास्थ्य मन्त्रालयको सचिवलाई पनि फोन गर्नुभएको थियो। तपाईंहरू ढुक्क हुनुस्, आउने बजेटमा ल्याबका लागि बजेट व्यवस्था गरिदिन्छु भनेर बोलेर जानुभएको हो, अहिले बजेटमा कहीँ पनि देखिँदैन।'
यसको जबाफमा सुधनले भनेका थिए —
यति सानो सानो बजेट र कार्यक्रम बजेट किताबमा राख्ने हो भने महाभारतको जत्रो हुन्छ। तपाईंलाई काम भए पुग्ने होइन र? चार महिनामा म कायापलट गर्न चाहिँ सक्दिनँ। भोट लिएर जानुस् फिर्ता।
२०८३ भदौ २३ — 'राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन'
हाम्रो भविष्य हामी आफै कोर्ने वाला छौं, अरूलाई कोर्ने दिने वाला छैनौं। आफ्नो फ्युचर आफ्नो भविष्य आफ्नै हातले कोर्ने वाला छौं। राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन।
तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो। यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौं। यही हो राजनीति, नयाँ राजनीति।
संस्कार भन्नुहुन्छ ट्रेडिसन, परम्परा भनेर भन्नुहुन्छ। हामी त्यही संस्कार परिवर्तन गर्न आएको। तपाईंको संस्कार भएन भनेर हामी आएको, हामी लड्न आएको। यत्तिकै हामीलाई टीका लगाएर हामी आएको होइन। चुनाव लडेर, जितेर तपाईंहरूलाई दुई–तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो। चेतना भया!
म सम्पूर्ण नेतागणहरूलाई जसले आफ्नो, आफूलाई राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर हामीलाई भाषण सुनाउनुहुन्छ, उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु यही मञ्चबाट। त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो।
हाम्रो भविष्य हामी आफै कोर्ने वाला छौं, अरूलाई कोर्ने दिने वाला छैनौं। We will write our history, we will write our future. आफ्नो फ्युचर आफ्नो भविष्य आफ्नै हातले कोर्ने वाला छौं। र तपाईंले देख्नुहुनेछ जब तपाईं डेथबेडमा हुनुहुन्छ टिभीमा हेर्नुहोला नेपाल परिवर्तन भएको।
We are here to teach you politics. राजनीति हामी सिकाउन आएको, सिक्न आएको होइन।
तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो। यो युवाहरूको पुस्ताको सरकार हो, हामी सेवा गर्न सिकाउँछौं। यही हो राजनीति, नयाँ राजनीति।
संस्कार भन्नुहुन्छ ट्रेडिसन, परम्परा भनेर भन्नुहुन्छ। We came here to change that tradition. हामी त्यही संस्कार परिवर्तन गर्न आएको। तपाईंको संस्कार भएन भनेर हामी आएको, हामी लड्न आएको। यत्तिकै हामीलाई टीका लगाएर हामी आएको होइन। चुनाव लडेर, जितेर तपाईंहरूलाई दुई–तिहाइको बहुमत ल्याएर देखाएर आएको सरकार हो। चेतना भया!
आजको यो आवाज सुधन गुरूङले बोलेको होइन, आजको आवाज बालेन्द्र शाहले बोलेको होइन, आजको आवाज रवि लामिछानेले बोलेको होइन र आजको आवाज सोबिता गौतमदेखि कुनै मन्त्रीले बोलेको होइन। यो आवाज नेपाली जनताको आवाज हो। र जनताको आवाजलाई दबाउँदा रिजल्ट तपाईंको आँखा अगाडि छ। याद राखिराख्नुस्।
म सम्पूर्ण नेतागणहरूलाई जसले आफ्नो, आफूलाई राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर हामीलाई भाषण सुनाउनुहुन्छ, उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु यही मञ्चबाट, We are not here to learn from you, we are here to learn from your mistakes र त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो। त्यै भएर कतिपय कुरा अपाच्य होला, कति शब्द नमिल्ला, हाम्रो तौर तरिका नमिल्ला। सुझाव लिन तयार छौं। सुझाव लिन जोकोहीबाट पनि तयार छौं। तर तपाईं जस्तै बनाउन चाहनुहुन्छ र तपाईंहरू जस्तै राजनीतिको नेता बनाउन चाहनुहुन्छ भने त्यो स्वीकार्य छैन।
यही कार्यक्रममार्फत उनले पत्रकारहरूलाई पनि सुध्रिन भनेका थिए।
पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु यही पोडियमबाट। तपाईंहरूले धेरै काम गर्नुभएको छ, सहयोग गर्नुभएको छ, मैले देखेको छु। तपाईंहरू लड्नुभएको छ। तपाईंहरूलाई सम्मान छ। र यो तीन-चार जना छन् नि! तपाईंहरूको पार्टीसँगै सुध्रिनुस् भन्न चाहन्छु। तपाईंहरूलाई सबैलाई ब्लेम गर्न आएको छैन। आन्दोलनको समयमा रिस्की ठाउँमा क्यामरा तेर्साउँदै हिँडेको मेरो आँखाले पनि देखेको हो। कतिजना पत्रकारहरूलाई गोली लागेर घाइते भएको मलाई पनि थाहा छ।त्यसलाई उच्च सम्मान छ। आई रेस्पेक्ट यू। सबै नेपाली जनताको सम्मान छ, जसरी दृश्य देखाउनुभयो, जसरी हामीलाई अन्याय भएको कुरा संसारलाई देखाउनुभयो। त्यसको लागि सल्युट छ।
***