जापानको दक्षिणी वाकायामा। समुद्रको छेउमा फैलिएको चट्टानी भू–भाग। छालले काटेर बनाएका भू–आकृति। कतै चट्टानमा बनेका संरचना त कतै सुनामीका पुराना निशान।
नेपाली भूगर्भशास्त्री डा. आशिष आचार्य जापानको क्योटो विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूसँग प्रकृतिको खुला प्रयोगशालामा यस्तै भूगर्भीय संरचना नियालिरहेका देखिन्छन्।
यी दृश्य उनले सामाजिक सञ्जालमा राखेका तस्बिरमा पनि देख्न सकिन्छ।
डा. आशिष विश्वका प्रतिष्ठित विश्वविद्यालयमध्ये एक मानिने क्योटो विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्। उनी पहिरो सम्बन्धी अनुसन्धानसमेत गरिरहेका छन्।
उनले पहिरो तथा भू–विपदका क्षेत्रमा लामो अनुभव भएका अन्तर्राष्ट्रिय स्तरका अग्रणी अनुसन्धानकर्ताहरूसँग सहकार्य गर्दै आएका छन्।
यसले अत्याधुनिक अनुसन्धान प्रविधि सिक्ने मात्र होइन, जापानको अनुभवलाई नेपालको भू–विपद जोखिम न्यूनीकरणमा कसरी उपयोग गर्न सकिन्छ भन्ने दृष्टिकोणसमेत विकास भएको उनी बताउँछन्।
उनको अनुसन्धानको मुख्य क्षेत्र भूमिगत पानी र पहिरोबीचको सम्बन्ध तथा पहिरोको चाल र गति हो।
'पहिले धेरैजसो मनसुनमा मात्रै पहिरो जान्थ्यो। अहिले सुक्खा समयमा पनि पहिरो जान्छ। सानोतिनो भूकम्पको धक्काले पनि पहिरो जान सक्छ। जमिन तात्ने र चिसिने प्रक्रियाले पनि पहिरो निम्त्याउन सक्छ। भूमिगत पानी धाँजाबाट जमिनभित्र छिर्छ र भिरालो जमिन कमजोर हुँदै जाँदा पहिरोको जोखिम बढ्छ,' आशिषले भने।
उनका अनुसार पहिरोको जोखिम बढाउने प्रमुख कारणमध्ये भूमिगत पानी पनि एक हो। पहाडमा भएका धाँजाबाट पानी जमिनभित्र पस्छ। त्यसपछि जमिनभित्र पानीको दबाब बढ्दै जान्छ।

यसले माटो तथा चट्टानबीचको पकड कमजोर बनाउँछ र अन्ततः गुरूत्वाकर्षणको प्रभावले जमिन तलतिर सर्न सक्छ।
'धाँजाबाट पानी छिर्दा जमिनभित्र पानीको दबाब बढ्छ। त्यसले जमिन कमजोर बनाउँदै लैजान्छ र पहिरो जान सक्छ,' आशिषले भने।
पहिरोको अध्ययन गर्दा वर्षा कति भयो भन्ने मात्र होइन, पानी जमिनभित्र कसरी गइरहेको छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
डा. आशिषको अनुसन्धानको अर्को महत्त्वपूर्ण पाटो हो— पहिरोको चाल र गति मापन।
यसका लागि उनीहरू फाइबर अप्टिक प्रविधि प्रयोग गर्छन्। जमिनभित्र फाइबर राखेर त्यसबाट प्रकाश पठाइन्छ। प्रकाश परावर्तन भएर फर्किँदा फाइबरमा आएको परिवर्तनका आधारमा जमिन कति सरेको छ भन्ने पत्ता लगाउन सकिन्छ। यसबाट पहिरोको चाल र गति मापन गर्न सकिन्छ।
त्यसैगरी ड्रोनबाट पनि समय समयमा सर्वेक्षण गरिन्छ। एक वर्षमा जमिन कति सर्यो र अर्को वर्ष कति सर्यो भन्ने तुलना गर्न सकिन्छ। यस्ता अध्ययन तथा अनुसन्धानका आधारमा जोखिम अनुसार पहिरो नियन्त्रणका उपाय अपनाउन सकिने उनी बताउँछन्।
'कतै पर्खाल लगाउनुपर्ने हुन सक्छ, कतै चट्टानमा बोल्ट राख्नुपर्ने हुन सक्छ। कतिपय ठाउँमा अन्य इन्जिनियरिङ प्रविधि प्रयोग गरेर जमिन बलियो बनाउन सकिन्छ,' उनले भने।
यस्ता अध्ययनले पहिरोको जोखिमबारे पूर्वसूचना दिन र जोखिममा रहेका बस्ती समयमै सुरक्षित स्थानमा सार्न सहयोग पुग्छ।
'हाम्रो अनुसन्धानले पहिरो गएपछि उद्धारमा पुग्नुभन्दा पहिल्यै पहिरोको चाल बुझेर जोखिम घटाउन मद्दत गर्छ,' उनले भने।
जापानमा पहिरो जानुअघि देखिने सामान्य संकेतलाई पनि गम्भीर रूपमा लिइन्छ।
जमिनमा धाँजा देखिनु, अचानक पानीको मूल पलाउनु वा सुक्नु, बिजुलीका पोल ढल्किनु, रूख अस्वाभाविक रूपमा ढल्किनु लगायतका परिवर्तनलाई सम्भावित पहिरोका संकेतका रूपमा हेरिन्छ।
त्यससँगै कुनै क्षेत्रमा कति वर्षा भइरहेको छ भन्ने तथ्यांक पनि विश्लेषण गरिन्छ। जोखिम भएका ठाउँमा विभिन्न अनुगमन प्रणाली जडान गरिएका हुन्छन्। ती प्रणाली एकअर्कासँग जोडिएका हुन्छन्।
जमिनको चाल, वर्षाको मात्रा र अन्य सूचनाका आधारमा जोखिमको अवस्था मूल्यांकन गरिन्छ।

स्थान र अवस्था अनुसार जमिनको चाल निश्चित सीमाभन्दा बढी हुन थालेमा साइरन बज्ने व्यवस्था हुन्छ। कति चाल भएपछि साइरन बजाउने भन्ने कुरा सम्बन्धित स्थानको भौगर्भिक र भौगोलिक अवस्था हेरेर निर्धारण गरिन्छ।
यसरी जोखिमको अवस्था बढेपछि मानिसलाई पूर्वसूचना दिन सकिन्छ र आवश्यक परे सुरक्षित स्थानमा सार्न सकिन्छ।
जापानमा पनि हरेक वर्ष पहिरो जान्छ। बस्ती बगाउने घटना पनि हुन्छन्। तर पूर्वसूचना, निरन्तर निगरानी र जोखिम न्यूनीकरणका उपायका कारण मानवीय क्षति कम गर्न सकिएको आशिषको बुझाइ छ।
नेपालमा पहिरोको जोखिम न्यूनीकरणका लागि भइरहेका काममा आशिषले सबैभन्दा ठूलो कमजोरी विस्तृत जोखिम नक्सांकनमा देखेका छन्।
नेपालको ठूलो भूभाग पहाडी छ। तर कुन ठाउँमा पहिरोको जोखिम अत्यधिक छ, कुन ठाउँ मध्यम जोखिममा छन् र कुन ठाउँ तुलनात्मक रूपमा सुरक्षित छन् भन्नेबारे पर्याप्त विस्तृत अध्ययन हुन सकेको छैन।
हालै नेपालमा भएको विनाशकारी चट्टान–हिमपहिरोले पहिरो र हिमनदीसँग जोडिएका जोखिमको नियमित अध्ययन र निगरानी कति आवश्यक छ भन्ने फेरि देखाएको आशिष बताउँछन्।
'हिमाली क्षेत्रमा चट्टान र बरफको अवस्था, भू–सतहको चाल तथा सम्भावित अस्थिर क्षेत्रको नियमित निगरानी आवश्यक छ। यस्ता विपद पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिमयुक्त क्षेत्र पहिचान, निरन्तर निगरानी र प्रभावकारी पूर्वसूचना प्रणालीमार्फत मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ,' उनले भने।
जोखिमको विस्तृत नक्सांकन गर्न सके जोखिमयुक्त बस्ती पहिचान गर्न सकिन्छ। आवश्यक ठाउँमा बस्ती स्थानान्तरण गर्न सकिन्छ। जोखिम भएका क्षेत्रमा निरन्तर निगरानी गर्न सकिन्छ। यसबाट पहिरोका कारण हुने भौतिक तथा मानवीय क्षति घटाउन सकिने उनको बुझाइ छ।
हिमाली क्षेत्रमा हिमनदीसँग जोडिएका सम्भावित जोखिमको समेत पूर्वअध्ययन आवश्यक रहेको उनी बताउँछन्।
जापानमा पहिरोको जोखिम न्यूनीकरणका लागि अत्याधुनिकदेखि सामान्य प्रविधिसम्म प्रयोग गरिन्छ। ड्रोनदेखि फाइबर अप्टिक प्रविधिसम्म प्रयोग भइरहेका छन्। यीमध्ये कतिपय प्रविधि महँगा छन्।
तर कम खर्चिला प्रविधि प्रयोग गरेर पनि नेपालले यस क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने उनको भनाइ छ।
पहिरो गएपछि उद्धार, राहत र पुनर्निर्माणमा ठूलो रकम खर्च हुन्छ। त्यसबाट हुने ठूलो धनजनको क्षतिको तुलनामा पहिरो जानुअघि नै जोखिम पहिचान, निगरानी र पूर्वतयारीमा लगानी गर्नु बढी प्रभावकारी हुन्छ।
'नेपाल र जापानको भौगर्भिक अवस्थामा धेरै समानता छन्। भारी वर्षा हुँदा दुवै ठाउँमा पहिरोको जोखिम बढ्छ,' उनले भने।
जोखिममा समानता भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिकामा भने ठूलो अन्तर रहेको उनी देख्छन्।
'नेपालमा सडक निर्माणका क्रममा पहाड काटिन्छ। तर काटिएको पहाड कसरी सुरक्षित बनाउने भन्नेमा पर्याप्त ध्यान दिइँदैन,' उनी भन्छन्।
जापानमा भने पहाड काटेर मात्रै छाडिँदैन। काटिएको भू–भागको स्थायित्व, पानीको बहाव, जमिनको अवस्था र पहिरोको सम्भावित जोखिम अध्ययन गरेर त्यसलाई सुरक्षित बनाउने काम पनि सँगसँगै गरिन्छ।

जापानले विपद पूर्वतयारीमा ठूलो लगानी गरेको छ। त्यसले सम्भावित क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
जापानको अनुभवले उनलाई एउटा कुरा स्पष्ट पारेको छ— प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिएला, तर क्षति घटाउन सकिन्छ।
चितवनको भरतपुर महानगरपालिका–१४, सुन्दरबस्तीमा जन्मे–हुर्केका आशिष थप अध्ययनका लागि सन् २०२० मा छात्रवृत्तिमा जापान पुगेका हुन्।
भरतपुरमै कक्षा १२ सकेका आशिषको त्यति बेला रूचि सिभिल इन्जिनियरिङमा थियो। तर भरतपुरमा भूगर्भशास्त्रको पढाइ भर्खर सुरू हुँदै थियो। नयाँ विषय भएकाले त्यसमै उनको चाख बढ्यो।
'म यही क्षेत्रमा आउँछु भनेर पढ्न सुरू गरेको होइन। पढ्दै जाँदा यो ठाउँसम्म आइपुगेँ,' उनले भने।
सन् २०२५ मा विद्यावारिधि सकेका उनी अहिले क्योटो विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्।
नेपालमा बर्सेनि पहिरो, बाढी, भूकम्प लगायत प्राकृतिक विपदले ठूलो क्षति पुर्याइरहेको छ। त्यसैले विपदको जोखिम बुझ्ने र वैज्ञानिक ढंगले जोखिम न्यूनीकरण गर्न सक्ने दक्ष जनशक्ति आवश्यक रहेको उनी बताउँछन्।
जापानमा बसेर काम गरिरहेका आशिष नेपालसँग जोडिएर पनि धेरै काम गर्न चाहन्छन्।
'देश छाड्नु र देशसँगको सम्बन्ध नै छाड्नु फरक कुरा हो। बाहिर बसेर पढ्ने र अनुसन्धान गर्नेले देश मात्रै छाडेको हुन्छ, देशसँगको सम्बन्ध छाडेको हुँदैन,' आशिषले भने, 'विपद व्यवस्थापन तथा भूगर्भीय अनुसन्धानमा रूचि भएका नेपाली विद्यार्थीलाई अध्ययन तथा अनुसन्धानमा सहयोग गर्न म तयार छु।'