साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनका हुथी विद्रोहीमाथि अमेरिकी सैन्य हमला गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन्।
इरानसमर्थित हुथीहरू रेड सीको महत्वपूर्ण जलमार्ग बाब अल–मन्देबतर्फ अघि बढिरहेका बेला युवराज बिन सलमानले बिहीबार ट्रम्पलाई दुईपटक फोन गरेर यस्तो आग्रह गरेका हुन्।
अमेरिकी अनलाइन एक्सियसका अनुसार अमेरिकी दुई अधिकारीले बिन सलमानले हुथीमाथि हमला गर्न ट्रम्पसँग आग्रह गरेको बताएका छन्।
तर ट्रम्पले तत्काल अमेरिकी सैन्य कारबाही गर्न अस्वीकार गरेका छन्। अमेरिकी अधिकारीहरूले अहिलेका लागि हुथीविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने योजना नरहेको बताएका छन्।
हुथीले यमनको रणनीतिक तटीय सहर कब्जामा लिएपछि बिहीबार तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो।
त्यसपछि उनीहरू विश्व व्यापार तथा साउदी अरबको तेल निर्यातका लागि महत्वपूर्ण मानिने बाब अल–मन्देब जलमार्ग नजिक पुगेका छन्।
इरानले यसअघि नै स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन प्रभावित पारिरहेका बेला हुथीले बाब अल–मन्देबमा नियन्त्रण बढाएमा अमेरिकामाथि दबाब बढाउन इरानलाई थप रणनीतिक लाभ पुग्न सक्ने आकलन गरिएको छ।
रोयटर्सका अनुसार शुक्रबार हुथीले बाब अल–मन्देब जलडमरुमध्यमा रहेको एक महत्वपूर्ण टापु पनि कब्जामा लिएका छन्।
यससँगै रेड सी र स्ट्रेट अफ हर्मुज दुवैतर्फको जलमार्ग प्रभावित हुन सक्ने चिन्ता बढेको छ।
यमनमा हुथीविरुद्धको संघर्ष तीव्र भइरहेका बेला अमेरिकाले साउदी अरबलाई सहयोग बढाउँदै प्रत्यक्ष युद्धमा संलग्न हुन भनेबाट जोगिन खोजिरहेको छ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमाइरल ब्राड कुपर बिहीबार साउदी अरब पुगेका थिए। उनले त्यहाँ तत्काल समन्वयका लागि बैठक गरेको दुई स्रोतलाई उद्धृत गर्दै एक्सियसले लेखेको छ।
साउदी र हुथीबीचको संघर्ष गत जुलाईमा पुनः चर्किएको थियो।
साउदी अरबले इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिबाट यमन फर्किरहेका वरिष्ठ हुथी अधिकारीहरू सवार इरानी विमानलाई सानामा अवतरण गर्न रोक लगाएपछि हुथीले साउदीविरुद्ध आक्रमण सुरु गरेका थिए।
त्यसपछि हुथीले रेड सीमा साउदीका तेल ट्यांकरलाई निशाना बनाउन थालेका थिए।
पछि उनीहरूले साउदीका ऊर्जा पूर्वाधारमाथि समेत आक्रमण विस्तार गरे। जवाफमा साउदी अरब र उसका सहयोगी यमनी सेनाले हुथीका स्थानमा हवाई तथा स्थल आक्रमण गरेका थिए।
जुलाईमा भने साउदीले आफूले नै हुथीको सामना गर्न सक्ने भन्दै अमेरिकाबाट सैन्य सहयोग आवश्यक नभएको बताएको थियो।
त्यतिबेला बिन सलमानले ट्रम्पसँग हुथीविरुद्ध कारबाहीका लागि राजनीतिक समर्थन मात्र मागेका थिए र साउदीलाई अमेरिकी सैन्य सहयोग आवश्यक नरहेको बताएका थिए। ट्रम्पले उनको कदमलाई समर्थन गरेका थिए।
तर पछिल्लो समय युद्ध चर्किँदै गएपछि साउदीले अमेरिकासँग थप सहयोग माग्न थालेको हो।
अमेरिकी सैन्य तथा नागरिक अधिकारीहरूले पछिल्ला साताहरूमा आफ्ना साउदी समकक्षीलाई ट्रम्पको निर्देशन इरान र स्ट्रेट अफ हर्मुजमा केन्द्रित रहने तथा अर्को मोर्चा नखोल्ने रहेको बताएका थिए।
बिहीबार हुथी सेना तटीय सहर मोखातर्फ अघि बढिरहेका र साउदीसमर्थित यमनी सेना पछि हटिरहेका बेला बिन सलमानले ट्रम्पलाई पहिलोपटक फोन गरी अवस्थाबारे जानकारी गराएका थिए।
केही घण्टापछि उनले फेरि फोन गरेर हुथीमाथि अमेरिकी हमला गर्न आग्रह गरेका थिए।
ट्रम्पले अमेरिकी प्रत्यक्ष सैन्य कारबाहीको आग्रह अस्वीकार गरे पनि अमेरिकाले साउदीलाई हुथीसम्बन्धी गुप्तचर सूचना र लक्षित कारबाहीका लागि आवश्यक जानकारी उपलब्ध गराउने एक अमेरिकी अधिकारीले बताएका छन्।
ती अधिकारीका अनुसार करिब २०० अमेरिकी सैनिक यसअघि नै साउदी अरबमा गैर–लडाकु सहयोग प्रदान गरिरहेका छन्।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले अमेरिकाको प्राथमिकता रेड सीमा जहाजको आवागमन खुला राख्नु रहेको बताएका छन्।
'अमेरिका आफ्ना मुख्य राष्ट्रिय सुरक्षा हितको संरक्षणमा केन्द्रित छ। जस्तै रेड सीमा जहाजको आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु, साथै क्षेत्रीय सुरक्षा चुनौती व्यवस्थापन र समाधानमा क्षेत्रीय साझेदारलाई नेतृत्व लिन सक्षम बनाउनु हो,' ती अधिकारीले भने।