नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठक शनिबारदेखि काभ्रेमा बसेको छ।
काभ्रेको एक रिसोर्टमा बसेको बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भइरहेको छ।
शुक्रबार बसेको कार्यदलको बैठकमा संयोजक थापाले छुट्टै प्रतिवेदन ल्याएपछि थप छलफल गर्नुपर्ने निष्कर्षमा कार्यदल पुगेको हो।
कार्यदल संयोजक थापाले अध्यक्षलाई हटाउने गरी प्रतिवेदन ल्याएको भन्दै आक्रोश पोखेका थिए।
जबाफमा उपाध्यक्ष एवं कार्यदलका सदस्य विष्णु पौडेलले पहिला एमाले बुझेर अनि एमाले भएर आउन सुझाव दिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार कार्यदलका बहुमत सदस्य महासचिव पोखरेलको प्रतिवेदनको पक्षमा छन्।
महासचिव पोखरेलले कार्यदलकै तर्फबाट तयार पारेको प्रतिवेदनको ‘काउन्टर’मा अर्को प्रतिवेदन ल्याएको भन्दै कार्यदलका सदस्यहरू आक्रोशित बनेका थिए।
स्रोतका अनुसार काभ्रेको एक रिसोर्टमा बसेको बैठकले दुवै प्रतिवेदनमाथि छलफल गरी सोमबारसम्म एउटै प्रतिवेदन बनाउने तयारी गरेको छ।