नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक एकतालाई अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ।
पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले प्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो।
सेप्टेम्बर ६ मा सम्पन्न बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा पूर्वप्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्वनेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेलाई चयन गरेको छ।
लामिछाने तत्कालीन नेकपा एकीकृत समाजवादी र पाण्डे तत्कालीन नेकपा माओवादी केन्द्र सम्बद्ध थिए।
पार्टी एकताको प्रक्रियालाई प्रवासमा समेत व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले साविकका दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले एसिया प्रदेशअन्तर्गत रहेका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
राष्ट्रिय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गरिने पाण्डेले जानकारी दिए।
नेकपाका एसिया प्रदेश संयोजक सनीकुमार ओलीका अनुसार प्रवासमा रहेका पार्टीसम्बद्ध संगठनबीचको एकतालाई संस्थागत गर्दै एसिया प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।