विकासोन्मुख राष्ट्रहरूको संगठन ब्रिक्सले भारतमा आयोजित शिखर सम्मेलनमा खाडी क्षेत्रमा शान्तिका लागि जोड दिएका छन्।
सो समूहले शनिबार संयुक्त वक्तव्य जारी गर्दै युद्धमा संयमता अपनाउन आह्वान गरेका छन्। युद्धमा विपरीत खेमामा रहेका इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले समेत संयुक्त वक्तव्यमा हस्ताक्षर गरेकाले यसलाई कूटनीतिक प्रगतिको संकेतका रूपमा हेरिएको भनेर विभिन्न मिडियाले लेखेका छन्।
नयाँ दिल्लीमा शिखर सम्मेलनको पहिलो दिन इरानी राष्ट्रपति मसुद पेजेस्कियान र युएईका युवराजले भेटवार्ता पनि गरेका थिए। द्वन्द्व सुरु भएयता यी दुई देशहरूबीच भएको यो नै सबैभन्दा उच्चस्तरीय बैठक हो।
युएईले दिएको जानकारी अनुसार दुवै नेताहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू, तनाव न्यूनीकरण, स्थिरता तथा क्षेत्रीय शान्ति र विकासलाई अघि बढाउने प्रयासहरूबारे छलफल गरे। तर छलफलको कुनै निश्चित निष्कर्ष वा समाधानबारे भने केही उल्लेख गरिएको छैन।
सात वर्षमा पहिलो पटक भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि इरान युद्धले यस क्षेत्रका जनतालाई ठूलो क्षति पुर्याएको भन्दै युद्ध रोक्नका लागि शान्तिदूतको रूपमा काम गर्न समूहका १० सदस्य राष्ट्रहरूलाई आह्वान गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तय भएको वार्ताको दुई हप्ताअघि सीले जारी द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायको साझा हित नगर्ने पनि बताए।
खाडी क्षेत्रका परराष्ट्र मन्त्रीहरूले स्ट्रेट अफ हर्मुजबाट हुने जल यातायातलाई अस्थायी रूपमा व्यवस्थापन गर्न इरानसँग छलफल गर्नु अघि ब्रिक्सको संयुक्त वक्तव्य जारी भएको हो।
ओमान र इरानको प्रयासमा हुने सो बैठक सोमबार ओमानको तटीय शहर सलालाहमा हुने कार्यक्रम छ।
फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले संयुक्त रूपमा इरान विरुद्ध युद्ध सुरु गरेयता छ-सदस्यीय खाडी सहयोग परिषद (जिसीसी) का विदेश मन्त्रीको इरानसँग यो पहिलो भेटघाट हुनेछ।
इरान र ओमानले दुई साताअघि मात्रै एउटा अस्थायी सम्झौतालाई अन्तिम रूप दिइरहेको बताएका थिए।
त्यस अनुसार पानीजहाजहरू इरानी जलक्षेत्रबाट हर्मुजमा प्रवेश गर्ने र मुख्यतया ओमानी भूभाग हुँदै बाहिरिने छन्। तर हर्मुज पूर्ण रूपमा खोल्नका लागि अमेरिका र इरानबीच सम्झौता हुनु पर्नेछ।
पछिल्ला केही दिनमा अमेरिका र इरानले एक अर्कामाथि प्रहार गरिरहेका छन्।
त्यस्तै इरानले चलाउने यमनको हुथी समूहले पनि साउदी अरबका तेल खानी लगायत ऊर्जा पूर्वाधार र सहरहरूमा आक्रमण गरेको थियो।
यसरी तनाव बढ्दा कच्चा तेलको भाउ अकासिएर प्रति ब्यारेल एक सय डलर नाघेको छ। यस्तो बेलामा हर्मुजलाई अस्थायी रूपमा खुलाउन खाडी राष्ट्रहरूले इरानसँग छलफल गर्न लागेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)