इरानले जुलाईमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी जोर्डनमा आक्रमण गर्नु अघि चीनले इरानलाई निशाना लगाउन उच्च-गुणस्तरका स्याटलाइट तस्बिरहरू दिएको द वाल स्ट्रिट जर्नलले दाबी गरेको छ।
जोर्डनमा रहेको सैन्य बेसमा आक्रमण अघि चिनियाँ निकायबाट इरानले उच्च-गुणस्तरका स्याटलाइट तस्बिरहरू प्राप्त गरेको भनेर त्यसबारे जानकार अमेरिकी अधिकारीहरूले बताएका छन्।
जारी युद्धका क्रममा इरानलाई चीनले गरेको सहयोगले अमेरिकी सेनालाई मानवीय क्षति भएको यो अहिले सम्मको सबैभन्दा स्पष्ट प्रमाण भएको जर्नलले लेखेको छ।
इरानले आक्रमण अघि र पछि दुवै समयमा ती तस्बिरहरू प्राप्त गरेको थियो। ती अमेरिकी अधिकारीहरूले इरानलाई तस्बिर उपलब्ध गराउने चिनियाँ निकायहरूको नाम खुलाउन भने अस्वीकार गरेका छन्। साथै यसमा चीन सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप पनि लगाएका छैनन्।
उच्च अमेरिकी अधिकारीहरूले जुलाई १७ को सो आक्रमणसँग जोडिएका स्याटलाइट तस्बिरको विषय आफ्ना चिनियाँ समकक्षीसामु उठाएका छन्। तर चिनियाँ पक्षले त्यसलाई अस्वीकार गर्दै प्रमाण माग गरेको अमेरिकी अधिकारीहरूले जर्नललाई बताए। चिनियाँ कम्पनीहरू यस्ता गतिविधिमा संलग्न रहेको कुरा चीनले बारम्बार अस्वीकार गर्दै आएको छ।
यो विषयले चिनियाँ राष्ट्रपति सी चिनफिङको सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तय भएको वार्तामा तनाव थप्न सक्ने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)