काठमाडौंको शिरमा निर्माण गरिएको धाप ड्यामको सिन्धुपाल्चोकतर्फको सडकमुनि पहिरो गएपछि ड्यामको अवस्थाबारे चासो उत्पन्न भएको छ।
लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको हो। अहिलेसम्म ड्यामको संरचनामा कुनै क्षति पुगेको छैन।
'धाप ड्यामको सिन्धुपाल्चोकतर्फ सडकमुनि सानो पहिरो गएको छ। त्यो पहिरो गएको ठाउँमा सडक भएको ठाउँमा दुवैतर्फबाट पानी आउँछ। अनि त्यहाँ राखिएको ह्युम पाइपमा पनि समस्या देखाएको छ', आयोजनाको प्रोजेक्ट म्यानेजर सागर पण्डितले सेतोपाटीसँग भने, 'बर्षातको पानीका कारण सिपेच भएर बाटो भासिएको छ।'
उनले ड्याममा अहिलेसम्म प्रत्यक्ष रूपमा असर नपरेको भए पनि जोखिम नहोस् भनेर पानी घटाउन थालिएको बताए। साथै नेपाली सेनाले मर्मत सुरू गरिसकेको पनि जानकारी दिए।
सडकमुनि रहेको खोल्सीमा पानीको बहावले जमिन काट्ने क्रम बढ्दा सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको थियो। प्राविधिक निरीक्षणका क्रममा ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको र ग्याबिन वालभित्रबाट पानी चुहिएको देखिएको उनले बताए।
हाल धाप ड्यामबाट प्रतिसेकेन्ड ४०० लिटरका दरले २४ घण्टा पानी निकास भइरहेको छ।
जलाशयमा पानीको मात्रा कम गरेर बाँध तथा त्यस वरपरको संरचनामाथिको दबाब घटाउने र सम्भावित जोखिम न्यूनीकरण गर्ने तयारी छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा इन्जिनियर तथा भूगर्भविद्सहितको प्राविधिक टोलीले ड्याम क्षेत्रको हालै निरीक्षण गरिसकेको छ। निरीक्षणमा नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा स्थानीय तहका प्रतिनिधिका साथै एसियाली विकास बैंकका प्रतिनिधिसमेत सहभागी थिए।
प्राविधिक टोलीले तत्काल ड्याम फुट्ने वा तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम रहेको अवस्था नरहेको निष्कर्ष निकालेको छ। यद्यपि, वर्षा जारी रहेकाले पहिरो थप सक्रिय हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाइएको छ।
पहिरो प्रभावित क्षेत्रमा पानी पस्न नदिन अस्थायी ड्रेन निर्माण गरिएको छ।
जमिनभित्र पानी पस्न सक्ने सम्भावित स्थानमा प्लास्टिक तथा त्रिपाल बिछ्याउने लगायतका काम भइरहेको उनले बताए। भासिएको क्षेत्रमा रहेको माटो तथा अन्य सामग्री हटाउने काम नेपाली सेनासँगको समन्वयमा भइरहेको उनको भनाइ छ।
अहिले गरिएका कामलाई तत्कालीन जोखिम न्यूनीकरणका उपायका रूपमा लिइएको छ। भूभाग स्थिर भएपछि ग्याबिन वाल तथा स्लोप संरक्षणका लागि स्थायी संरचना निर्माण गर्ने तयारी छ। त्यसका लागि थप प्राविधिक अध्ययनसमेत गरिने भएको छ।
काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको धाप ड्याम करिब ८ लाख ५० हजार घनमिटर पानी अट्ने क्षमताको जलाशय हो।
यो आयोजना मुख्यतः वर्षायाममा पानी सञ्चय गरी सुख्खायाममा बागमती नदीमा पानी छाड्ने उद्देश्यले निर्माण गरिएको हो। यसबाट बागमती नदीको बहाव कायम राख्न तथा नदीको वातावरणीय र पारिस्थितिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धाप ड्यामको सुरक्षा
काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बागमती नदीको बहाव र गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यका साथ करिब ४५ करोड रुपैयाँको लागतमा धाप ड्याम निर्माण गरिएको थियो।
एसियाली विकास बैंकको सहयोग तथा जापानी सहयोग नियोग 'जाइका'को अध्ययनका आधारमा काठमाडौंतर्फ २४ मिटर अग्लो यो बाँध बनाइएको छ। नेपालमै पहिलो पटक प्रयोग गरिएको 'कङ्क्रिट फेस रक-फिल' प्रविधिमा आधारित छ।
ड्याममा ८ लाख ५० हजारदेखि १४ लाख घनमिटरसम्म पानी भण्डारणको क्षमता छ।
सुक्खायाममा बागमती नदीमा प्रतिसेकेन्ड ४० लिटर र पशुपति आर्यघाट क्षेत्रमा मुख्य चाडपर्वका बेला प्रतिसेकेन्ड ४०० लिटरसम्म स्वच्छ पानी प्रवाह गर्ने लक्ष्य राखिएको छ।
यसले काठमाडौं उपत्यकाको जलसङ्कट तथा बागमती प्रदूषण नियन्त्रणमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।