नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १४ औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औं महाधिवेशनमा जाने बताएका छन्।
कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उनले बताए।
आइतबार केन्द्रीय कर्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सहभागी हुने क्रममा बोल्दै उनले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४ औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने बताए।
भण्डारीले राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरको उपयोग जनताको जीवन परिवर्तनमा गर्नुपर्ने बताए। पटक–पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायम रहे त्यसको औचित्यमाथि प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।
–न्युज एजेन्सी नेपाल