युरोपेली नेताहरूको एउटा समूह युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको रेलमार्ग प्रयोग गरे लगत्तै आइतबार रूसी ड्रोनले प्रहार गरेको छ।
पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन, पूर्व स्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टसहित युरोपेली सुरक्षा अधिकारीहरू युक्रेनबाट पोल्यान्डतर्फ सोही रेलमार्ग हुँदै गएको केही समयपछि ड्रोन आक्रमण भएको फाइनान्सियल टाइम्सले जनाएको छ।
युक्रेनको याहोदिन स्टेसनमा रहेको रेलमा आक्रमण हुनुअघि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। घटनामा मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्।
पूर्व अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक डेभिड पेट्रियसले आफू पनि याहोदिनमा रहेको अर्को रेलबाट बाहिर निकालिएको बताएका छन्। याहोदिन पोल्यान्ड सीमाबाट करिब पाँच किलोमिटर टाढा छ। ड्रोनले रेलमा प्रहार गर्दा आफू घटनास्थल आसपासमै रहेको उनले बताएका छन्।
जोनसन र बिल्ड्ट युक्रेनको राजधानी किभमा भएको युरोपेली तथा युक्रेनी नेताहरूको वार्षिक सम्मेलनमा सहभागी भएर फर्किरहेका थिए। सम्मेलनमा सहभागीहरूका लागि विशेष रूपमा चार्टर गरिएको रेलमा उनीहरू यात्रा गरिरहेका थिए।
सम्मेलनका प्रतिनिधिका अनुसार उनीहरू पोल्यान्डको दोरोहुस्कमा ओर्लिएका थिए। त्यसपछि केही पर रहेको रेलमा ड्रोन प्रहार भएको थियो।
‘कसैलाई चोटपटक लागेन। सुरक्षा प्रणाली निकै राम्रो रहेछ,’ बिल्ड्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
जोनसनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमा सर्वसाधारणले दैनिक रूपमा यस्तै ‘अर्थहीन र अन्धाधुन्ध’ आक्रमण सामना गरिरहेको बताएका छन्।
उनले पश्चिमी मुलुकहरूलाई युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन गम्भीर बन्न पनि आग्रह गरेका छन्।
रूसी आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले देशका उच्च सुरक्षा अधिकारीहरूको विशेष बैठक बोलाएका छन्। सीमाक्षेत्र नजिकैको एउटा पेट्रोल पम्पमा समेत आक्रमण भएको बताइएको छ।
आक्रमणपछि पोल्यान्डले आफ्ना लडाकु विमानहरू परिचालन गरेको थियो। पोल्यान्डका रक्षामन्त्री व्लादिस्लाव कोसिन्याक–कामिस्जले देशको हवाई सुरक्षा प्रणाली निरन्तर उच्च सतर्कतामा रहेको बताएका छन्।
युक्रेनी विदेशमन्त्री आन्द्रेइ सिबिहाले घटनालाई ‘पुटिनको आतंक ईयू र नेटोको ढोकामै आइपुगेको’ भन्दै तत्काल कदम चाल्न आग्रह गरेका छन्।
उनले पुटिन नेतृत्वको रुसी सरकारमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउन पश्चिमी मुलुकलाई आग्रह गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)