नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले आफूले कांग्रेसको १५ औं महाधिवेशन गर्न लागेको बताएका छन्।
उनले बेग्लै पार्टी बनाउन नलागेको पनि बताए।
‘हामी अर्को पार्टी बनाउँदै छैनौं, नेपाली कांग्रेसकै १५ औं महाधिवेशन गर्दैछौं,’ आज चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ पद होइन, विचारलाई महत्त्व दिने स्वाभिमानी कांग्रेसका साथीहरू यो महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ।’
उनले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको पनि बताए।
ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको उनको भनाइ थियो।
उनले असोज ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४ औं महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने प्रस्ताव गरिएको भन्दै त्यो अपमानजनक रहेको बताए।
‘हामी केन्द्रीय सदस्य भयौँ भनेर पार्टीमा लागेका होइनौं। नेपाली कांग्रेसको मूल्य, मान्यता र संस्कार छ। १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रीय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो,’ आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकप्रति लक्ष्य गर्दै महतले भने।
महतले अदालतमा विचाराधीन प्रक्रियालाई पर्खिनुपर्ने वा राजनीतिक सहमतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प आफूहरूले अघि सारे पनि संस्थापन पक्षले दुवै विकल्प अस्वीकार गरेको बताए।
‘पहिला राजनीतिक रूपमा सहमति हुनुपर्यो। एकताको महाधिवेशन गरेर जाने वातावरण बन्नुपर्यो त्यसपछि अदालतको प्रक्रिया फिर्ता लिने कुरा हुन्छ,’ उनले भने।
उनले १५ औं महाधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वान गरेका थिए।
असोज १५ गतेदेखि सुरू हुने वडा अधिवेशनमा सहभागी हुन उनले आग्रह गरेका थिए।
महतले संस्थापन पक्षले सहमतिको बाटो बन्द गरेको पनि बताए।