नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को आवासीय बैठकले छलफलका क्रममा उठेका विषय समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।
कार्यदलका संयोजक रामबहादुर थापा, सदस्य विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको कार्यदलकी सदस्य पद्मा अर्यालले जानकारी दिइन्।
‘हामीले दुवै प्रतिवेदनमाथि छलफल गर्यौं। सबैका धारणा पनि आएका छन्,’ उनले भनिन्, ‘अब छलफलमा उठेका विषयवस्तुलाई समेटेर उहाँहरूले प्रतिवेदन ल्याउनुहुन्छ। असोज १ गते कार्यदलको बैठक बसेर टुंगो लगाउने भन्ने भएको छ।’
काभ्रेको बल्थलीस्थित रिसोर्टमा शनिबारदेखि कार्यदलको बैठक बसेको थियो। बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा र कार्यदलका सदस्यसचिव एवं पार्टी महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भएको थियो।
एमालेले जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको थियो।
महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ‘७० वर्षे उमेर हद’ र मुख्य पदमा ‘बढीमा दुई कार्यकाल’ को व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ।
प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।
यता, उपाध्यक्ष एवं कार्यदल संयोजक थापाले भने अलग्गै प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुनेलगायतका विषय उल्लेख गरेका छन्। थापाले आफ्नो प्रतिवेदनमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाको बचाउसमेत गरेका छन्