नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट निवर्तमान केन्द्रीय सदस्यहरू १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने गाउँ-नगर वडा अधिवेशनमा सहभागी हुने भएका छन्।
खड्का निवास गोल्फुटारमा सोमबार भएको छलफलपछि निवर्तमान कम्तीमा ३१ जना केन्द्रीय सदस्यहरू वडा अधिवेशनमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।
निवर्तमान कार्यवाहक सभापति खड्काले संस्थापन पक्षसँग राखेका अधिकांश माग पूरा भएको स्थितिमा खड्कानिकट नेताहरू असोज ३ र ४ को वडा अधिवेशनमा सहभागी हुँदै अधिवेशन प्रक्रियामा होमिने निर्णयमा पुगेका हुन्।
अहिलेसम्मको स्थितिमा खड्का भने कुनै पनि अधिवेशनमा अहिले सहभागी हुने पक्षमा छैनन्।
सर्वोच्च अदालतमा विशेष महाधिवेशनविरूद्ध मुद्दामा पुनरवलोकन माग गर्दै रिट दिएको र निस्सासमेत पाएको भन्दै उक्त मुद्दा कायमै राखेर आफू महाधिवेशनमा जान नमिल्ने खड्काले आफूनिकट नेताहरूलाई बताउने गरेका छन्।
‘हामीले राखेका अधिकांश मागहरू पूरा गरेको अवस्था छ, तपाईंहरू रूख र चार तारे झण्डा जहाँ छ त्यहाँको अधिवेशन प्रक्रियामा जानु उपयुक्त हुन्छ भन्ने कुरा पूर्ण दाइको छ,’ छलफलमा सहभागी एक निवर्तमान केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘१४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हामी करिब ३१ जना असोज ३ र ४ को वडा अधिवेशनमा सहभागी हुन्छौं।’
ती नेताका अनुसार अब कांग्रेस सग्लो रहन्छ भन्ने झिनो आशा निवर्तमान कार्यवाहक सभापति खड्कामा देखिन्छ।
‘यो पार्टी ९९ प्रतिशत अब विभाजनतिर उन्मुख भयो, मिराकलको सम्भावना १ प्रतिशत देख्छु, म त मुद्दा हालेको मानिस भएकोले कुनै पनि अधिवेशनमा जाने कुरा भएन,’ खड्काका भनाइ उद्धृत गर्दै ती नेताले भने।
केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले वडा अधिवेशनमा भाग लिँदा विशेष महाधिवेशनको केन्द्रीय सदस्य बराबर हैसियत दिन तयार रहेको निर्णय गरेको थियो। वडा अधिवेशनमा भाग लिएर अधिवेशन प्रक्रियामा होमिएपछि मात्र अहिलेको केन्द्रीय समितिमा समाहित गराउने खालको भाषा केन्द्रीय कार्यसम्पादनले गरेकोमा खड्कानिकट कतिपय नेताहरूले असन्तुष्टि पनि जनाएका थिए।
उनीहरूले सिधै केन्द्रीय सदस्य मनोनीत गरिदिएको भए वडा अधिवेशनमा जान पनि सजिलो पर्ने कुरा राखेका थिए।
आफूहरू असोज ३ र ४ को वडा अधिवेशनमा सहभागी हुने निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले बताए। ‘हामी वडा अधिवेशनमा सहभागी हुन्छौं,’ उनले भने, ‘पहिलादेखि नै हामी अधिवेशनमा सहभागी हुने कुरा नै थियो।’
महाधिवेशनमा प्रतिनिधि आउन केन्द्रीय स्तरका नेताहरू पनि वडा तहदेखि नै निर्वाचित भएर आउनुपर्ने विधानको व्यवस्था छ। यसअघि पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो, त्यो विशेष महाधिवेशनमा संशोधित विधानबाट हटाइएको छ।
निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरू सम्बन्धमा खड्का निवासमा सोमबार छलफल भएको र मंगलबार पनि छलफल हुने बताएकी छन्।
आफूसहित ३१ जना नेताहरूले पार्टी एकताका लागि पहल गर्न पार्टीका दुवै पक्षलाई यसअघि अपिल गरेको पनि उनले बताइन्।
यस्तो अपिल गर्नेमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरूङ, शान्ति परियार विक, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, ईन्द्रबहादुर बानियाँ, अनिल रूंगाटालगायत नेताहरू थिए। उनीहरू असोज ३ र ४ को वडा अधिवेशनमा सहभागी हुन तयार देखिएको नेताहरू बताउँछन्।
‘कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिएको हो, शीर्ष नेताहरूसँग पनि छलफल गर्नुपर्यो,’ उनले भनिन्, ‘हामी सर्लक्क मिल्ने भन्ने पनि होइन। नेपाली कांग्रेसका सबै नेताहरू एकै ठाउँमा भएर महाधिवेशन होस् भन्ने पहलमा छौं। अझै एक/दुई दिन हामी छलफलमा छौं। हामी शीर्ष नेता शेरबहादुर देउवाकै नेतृत्वमा जान चाहन्छौं, सबै मिलेर काम होस् भन्ने हो।’
उनले पुस १० गतेसम्म नवीकरण गरेकाहरूले पनि १५ औं महाधिवेशनमा भाग लिन पाउने भएकोले आफूहरूले देशभरका नेता कार्यकर्ताहरूसँग पनि छलफल गर्ने बताएकी छन्।
केही नेताहरूले भने केन्द्रीय समितिमा जाने कि नजाने भन्ने निर्णय लिन बाँकी रहेको बताएका छन्।
‘वडा अधिवेशनमा जाँदा विशेषबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत हुने कार्यसम्पादनको निर्णय छ, त्यसपछि मनोनीत गर्ने होला, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म छ, आइसक्यो, यति छोटो अवधिका लागि केन्द्रीय समितिमा जाने कि नजाने निर्णय गर्नै बाँकी छ,’ खड्कानिकट एक नेताले भने, ‘तर हामी चुनदेवीचाहिँ जादैनौं।’
निवर्तमान कार्यवाहक सभापति खड्काले पनि आफू चुनदेवी नजाने आफूनिकटहरूसँग बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला र उक्त भेलाबाट १५ औं महाधिवेशन तयारी समिति संयोजकमा शशांक कोइरालालाई अघि बढाउने निर्णय गरेपछि कोइरालाको नेतृत्वमा समानान्तर गतिविधि भइरहेको छ।
निवर्तमान सभापति देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन् भने निर्वाचन, सदस्यता व्यवस्थापन, विधान मस्यौदा र अनुशासन समिति संयोजक पनि तोकिसकेका छन्।
देउवा पक्षले भने केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अस्वीकार गरेको छ। विगतमा देउवासँगै निकट रहेर काम गरेका कतिपय नेताहरू भने खड्कानिकट हुँदै गगन थापा नेतृत्वको कांग्रेसले गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन्।