पार्टी संस्थापक बिपी कोइरालाका पुत्रसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालालाई अघि सार्दै समानान्तर गतिविधि गरिरहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले धारणा सार्वजनिक गरेर भनेका छन्- पदको लालसा छैन तर मूकदर्शक भएर बस्न सक्ने छैन।
दुई कार्यकाल सभापति भएका देउवाले आफ्नो नेतृत्वमा महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने दायित्व उल्लेख गर्दै मंगलबार धारणा सार्वजनिक गरेसँगै नेपाली कांग्रेसकै नाममा दुई महाधिवेशन हुने निश्चित भएको देखिन्छ।
गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म र देउवा नेतृत्वको संस्थापनइतरले नेपाली कांग्रेसकै नाममा मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएका हुन्।
एकै महाधिवेशन गर्न सभापति गगन थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग हालै संवाद गरे पनि देउवासँग संवादसमेत हुन सकेको थिएन। वडा अधिवेशन सुरू हुनुअघिसम्म संवाद हुन सक्ने कतिपयको आकलन रहे पनि देउवाले आज जारी गरेको अपिलले भने अब कांग्रेस मिलनतर्फ भन्दा पनि विभाजनउन्मुख रहेको देखाउँछ।
देउवाले आफ्नै नेतृत्वमा महाधिवेशन गर्न चाहेका छन् भन्ने उनको अपिलले प्रष्ट संकेत गरेको छ। २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनले देउवा दोस्रो पटक कांग्रेस सभापति भएका थिए। यसबीचमा विशेष महाधिवेशन भएर नयाँ नेतृत्व आइसके पनि देउवाले स्वीकार गरेका छैनन्। उनले १५ औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने आफ्नो दायित्व हुने बताएका छन्।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले भनेका छन्, ‘देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५ औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।’
साउन २९ देखि ३१ गतेसम्म देउवा पक्षले काठमाडौंमा गरेको राष्ट्रिय भेला/सम्मेलनले १५ औं महाधिवेशन तयारी समिति गठन गरेको थियो। देउवाको निर्देशनमा पूर्वमहामन्त्री, संयोजक शशांक कोइरालाले महाधिवेशन गतिविधि गर्ने निर्णयअनुसार समानान्तर गतिविधि र १५ औं महाधिवेशन कार्यतालिका पनि आएको थियो।
देउवाले सभापति गगन थापालाई लक्ष्य गर्दै सहमतिबेगर हतारमा महाधिवेशन गर्न खोजेको भनेका छन् र आफू मूकदर्शक भएर बस्न सक्ने छैन भन्ने सन्देश दिएका छन्।
‘नेपाली कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमतिबेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाको भनाइ छ।
साथै देउवाले विशेष महाधिवेशन पक्षधरको महाधिवेशनमा भाग नलिन पनि आह्वान गरेका छन् र आफू निकटहरूले ल्याएको कार्यतालिकाअनुसार मंसिरको महाधिवेशनमा भाग लिन अपिल गरेका छन्।
‘नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु,’ देउवाको भनाइ छ, ‘पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दछु।’
देउवाले यस्तो अपिल गरे पनि विगतमा उनका सहयात्री अधिकांशले उनको साथ छाडिसकेका छन्। २०७८ को १४ औं महाधिवेशनमा उनकै टिमबाट पदाधिकारी जितेका अधिकांशले देउवाको साथ छाडेका हुन्। उक्त कार्यसमितिको १४ पदाधिकारीमध्ये अहिले देउवा र निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी मात्रै सँगै छन्, अरू कोही गगनतिर त कोही 'मौन' छन्।
देउवा पक्षका कतिपय नेताहरू गत पुसमै विशेष महाधिवेशनमा सहभागी भएका थिए भने विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय नेता पछि केन्द्रीय सदस्य मनोनीत भएका थिए। विगतमा देउवा समूहमै रहेका कम्तीमा ३१ जना नेताहरू असोज ३ र ४ देखि सुरू हुने वडा अधिवेशनमा भाग लिन सकारात्मक छन्, यसले देउवा पक्षलाई झन् खुम्च्याएको छ।
तर देउवा यो स्वीकार्ने पक्षमा छैनन्। उनले आज जारी गरेको अपिलमा अधिकांश नेताकार्यकर्ता आफूतिर रहेको संकेत गरेका छन्। देउवाको भनाइ छ, ‘पार्टीभित्र सहमति हुन सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ।’
विशेष महाधिवेशनबाट आएको कार्यसमितिले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाले नेता तथा कार्यकर्तामा अनुरोधसमेत गरेका छन्।
देउवाले अदालतबाट मुद्दा अन्तिम किनारा नलागेको भन्दै महधिवेशन गर्न हतार गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारेख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन,’ देउवाको भनाइ छ।
देउवासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि विशेष महाधिवेशनविरूद्ध सर्वोच्च अदालत गएका थिए। उनीहरूले आधिकारिकतासम्बन्धी मुद्दामा पुनरवलोकन निस्सा पाएका छन्। देउवा बेग्लै महधिवेशनमा होमिने भए पनि निवर्तमान कार्यवाहक सभापति खड्का भने दुवै महाधिवेशनमा सहभागी नहुने तयारीमा छन्। तर खड्काले यसबारे आफै धारणा भने सार्वजनिक गरिसकेका छैनन्।
तर उनीनिकट निवर्तमान केन्द्रीय सदस्यहरूको ठूलो संख्या असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुँदैछन्। हालै केन्द्रीय कार्यसम्पादन समिति बैठकले वडामा केन्द्रीय सदस्यसरह हैसियतमा उनीहरूलाई उपस्थित हुने बाटो खुला गरिदिएको थियो। साथै गत पुस १० गतेसम्म नवीकरण गरेका सदस्यहरूले पनि अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको थियो, यस्तो निर्णय गर्न खड्काले नै माग गर्दै आएका थिए। तर आफूले अदालतमा मु्द्दा दिएको अवस्थामा संस्थापन र इतर पक्षले गर्ने कुनै पनि महाधिवेशनमा भौतिक रूपमा सहभागी हुने पक्षमा खड्का नरहेको उनीनिकट नेताहरू बताउँछन्।
अर्का नेता शेखर कोइराला पनि दुवै महाधिवेशनमा सहभागी हुने पक्षमा छैनन्। कोइरालानिकट नेताहरू अधिकांश संस्थापन पक्षसँग नजिकिएका छन् र रूख र चार चारे झण्डा जहाँ रहन्छ त्यहीँ रहने भनिरहेका छन्।
‘उहाँ देउवा र थापा नेतृत्वले गर्ने दुवै महाधिवेशनमा सहभागी हुने पक्षमा हुनुहुन्न, पार्टी एकताकै पक्षमा हुनुहुन्छ, पार्टी एक नभई गरिएको महाधिवेशनको अर्थ हुन्न भनिराख्नुभएको छ,’ कोइरालानिकट एक नेताले भने, ‘हामीलाई रूख र चारतारे झण्डा भएकै ठाउँमा उभिन भन्नु भएको छ, कहिलेकाहीँ त उहाँ म राजनीतिबाट सन्यास लिन्छुसम्म भन्नुहुन्छ।’
खड्का र कोइराला महाधिवेशनमा सहभागी हुने वा नहुने, भए कुन महाधिवेशनमा सहभागी हुने भन्ने यकिन छैन। उनीहरूले यसबारे औपचारिक धारणा पनि सार्वजनिक गरिसकेका छैनन्। अहिलेसम्मको अवस्था हेर्दा गगन र शेरबहादुर पक्षले कांग्रेसकै नाममा दुई महाधिवेशन गर्ने निश्चित देखिएको छ र देउवा पनि सक्रियतापूर्वक आफ्नै नेतृत्वमा महाधिवेशन गरी नेतृत्व हस्तान्तरण तयारीमा छन्।
गत पुसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेदेखि कांग्रेसमा मतभेद सुरू भएको थियो। आधिकारिकतासम्बन्धी विवाद, क्रियाशील अद्यावधिक विवाद, महाधिवेशन कार्यतालिका विवाद हुँदै दुई पक्ष आ-आफ्नो कित्ता छुट्याएर महाधिवेशन तयारीमा जुटेका छन् र दुवै महाधिवेशन भएमा कांग्रेस विभाजनमा जानेछ।