इरानले अमेरिकासँग रोकिएको वार्ता पुनः सुरु गर्न सातवटा सर्त राखेको छ।
इरानले ती सर्तहरू कतारमार्फत अमेरिकी पक्षलाई पठाएको इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईलाई उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ।
ती सर्तहरू अमेरिकासक्ष पुर्याइसकिएको र राष्ट्रपति डोनाल्ड ट्रम्पको जबाफ पर्खिरहेको रेजाईले बताएका छन्।
अल जजिरासँगकै अन्तर्वार्तामा रेजाईले सातमध्ये तीनवटा सर्त सार्वजनिक नै गरेका छन्।
सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकामा रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने मुख्य सर्त छन्।
बाँकी सर्त भने उनले बताएका छैनन्।
अमेरिकाले आफूले सिर्जना गरेको संकटबाट बाहिर निस्कन चाहेको हो भने इरानका अधिकार र सर्त स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
इरानले कतारमार्फत सर्त पठाएपछि पाकिस्तानले दुई देशबीच रोकिएको वार्ता पुन सुरू गर्न मध्यस्थता गरिरहेको पनि अल जजिराले जनाएको छ। तेहरानले अमेरिकाको जबाफ पर्खिरहेको उनले बताए।
फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच युद्ध सुरु भएको थियो।
त्यसयता विभिन्न चरणमा वार्ता र युद्धविरामको प्रयास भए पनि पछिल्लो समय सैन्य तनाव पुनः बढेको छ। रेजाईले वार्ता चाहेको संकेतसँगै इरान अर्को सम्भावित अमेरिकी आक्रमणका लागि पनि तयार रहेको बताएका छन्।
उनले अमेरिकाले इरानी आणविक कार्यक्रमलाई लिएर लगाउँदै आएको आरोपको पनि खण्डन गरेका छन्।
इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो नीतिमा परिवर्तन नगरेको र हालसम्म आणविक अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने निर्णय नगरेको उनको भनाइ छ।
यद्यपि थप प्रतिबन्ध वा आफ्नो आणविक मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा लगिए त्यसले भविष्यमा इरानलाई फरक निर्णयतर्फ धकेल्न सक्ने उनले चेतावनी दिएका छन्।
इरानले यसअघि अमेरिकासँगको वार्ता पुनः सुरु गर्न युद्ध अन्त्य, आर्थिक प्रतिबन्ध हटाउने र क्षतिपूर्तिसहितका माग अघि सार्दै आएको थियो।
अलजजिराका अनुसार रेजाईले यसपटक सार्वजनिक गरेका सर्तमा भने क्षतिपूर्तिको माग उल्लेख गरेका छैनन्।
रेजाईले होर्मुज जलडमार्गको विषयमा पनि इरान र ओमानबीच सहमतिको मस्यौदा तयार भइसकेको तर अन्तिम चरणमा रोकिएको बताएका छन्।
उनका अनुसार त्यसलाई सार्वजनिक गर्न क्षेत्रीय मुलुकहरूको समर्थन आवश्यक पर्न सक्छ।