नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गृहमन्त्री सुदन गुरुङलाई 'ट्राफिक प्रहरी कसको हो' भनेर प्रश्न सोधेका छन्।
ट्राफिक प्रहरी र बस चालक अर्जुन लामा दोङबीच विवाद भएपछिको एक दुःखद घटनामा परी गम्भीर घाइते भएका चालक लामाको उपचारको क्रममा निधन भएको थियो।
सोही घटनाबारे प्रतिनिधि सभामा बोल्दै सांसद दुलालले यसअघि महानगर प्रहरी र राइडरको विवादमा पन्छिएका गृहमन्त्रीलाई प्रश्न सोधेका हुन्।
महानगर प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा गत असार २६ गते गणेश नेपालीको ज्यान गएको थियो।
उक्त घटनामा गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै महानगर प्रहरीले ह्विल लक गरेको उल्लेख गरेका थिए। साथै महानगर प्रहरी आफ्नो मातहत नभएको बताएका थिए।
सोही प्रसंग कोट्याउँदै सांसद दुलालले गृहमन्त्री सुदन गुरुङलाई प्रश्न सोधेका हुन्।
'गणेश नेपालीले जीवन गुमाउँदा यो महानगरको प्रहरी नेपाल सरकारको होइन स्थानीय तहको हो भनियो,' सांसद दुलालले प्रतिनिधि सभा बैठकमा भने, 'आज म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु- नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? नेपाल प्रहरी चलाउने मन्त्री को हो? गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु।'
सांसद दुलालले त्रिपुरेश्वरको घटनाले राज्य र सरकारप्रति नागरिकको निराशा देखाएको उल्लेख गरेका थिए।
उनले श्रमिकप्रति नियमनकारी निकायबाट अमर्यादित व्यवहार प्रदर्शन भएको बताए।
'नियमनकारी निकाय मर्यादित नभई मजदुरबाट मर्यादाको कल्पना गर्न सक्दैनौँ। म राज्यलाई सरकारलाई आफ्ना नियमनकारी निकाय मर्यादित बनाउन र काउन्सिलिङ गर्न अनुरोध गर्न चाहन्छु', दुलालले भने।
उनले ठूला सवारीको लाइसेन्स लिनका लागि २२ वर्ष पूरा भएको र साना सवारीको लाइसेन्स लिएको हुनुपर्ने नियममा परिवर्तन ल्याउनुपर्ने बताए। साना सवारीको लाइसेन्स नलिई ठूला सवारीको लाइसेन्स लिन नपाउने व्यवस्था सच्याउन माग गरे।
साथै सरकार हेर्ने भूमिकामा सीमित भएको आरोप लगाए।
'सरकार अब के गर्छ? सरकार हेर्ने मात्र हो कि नागरिकको संवेदना सुन्ने हो,' दुलालले भने, 'सस्तो भावुकता, उत्ताउलोपना र देखासिखीले सरकार चलाउन त सकिन्छ तर कुशल राजनीतिक चरित्र देखाएर सरकार चलाउन सकिँदैन।'