स्थापनाको छोटो अवधिमै निर्वाचनमा होमिएर पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा बलियो उपस्थिति देखाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रदेश र स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा व्यस्त छ।
गत वर्ष जेनजी आन्दोलनपछि गठन भएको पार्टीले फागुन २१ को निर्वाचनको पनि बेलैमा तयारी थालेको थियो।
आउँदो वैशाखमा स्थानीय तहको र मंसिरमा प्रदेश सभाको कार्यकाल सकिँदैछ। यी दुई तहको आउँदो चुनाव केन्द्रित अभियान लिएर कोशी पहाडमा श्रम संस्कृतिका नेताहरू निरन्तर सक्रिय देखिएका छन्।
प्रतिनिधि सभाको पछिल्लो चुनावमा कोशी प्रदेशमा समानुपातिकतर्फ रास्वपापछि दोस्रो धेरै मत पाएको श्रम संस्कृति यही प्रदेशमा बढ्ता केन्द्रित छ।
फागुनको निर्वाचनमा श्रम संस्कृतिले मुलुकभरिको १६५ वटै क्षेत्रबाट समानुपातिक मत पाएको थियो।
‘हामी मुलुकभरि नै चुनावी अभियानमा लागिसकेका छौं,’ श्रम संस्कृति पार्टीका नेता समिर तामाङले भने, ‘कोशी प्रदेशमा हाम्रो संगठन र प्रभाव बलियो भएकाले यहाँ धेरै गतिविधि स्वाभाविक हो।’
उनले भने जस्तै कोशीको पनि पहाडी क्षेत्रमा श्रम संस्कृतिले अन्य दलबाट मान्छे तानिरहेको छ।
मंगलबार मात्रै एमाले इलामका पूर्व सचिव उमेश गुरूङलाई श्रम संस्कृतिले पार्टीमा भित्र्याएको छ।
उनलाई पार्टीका वरिष्ठ नेता सुदन किरातीले स्वागत गरेका थिए।
मंगलबार इलामको सन्दकपुर गाउँपालिकामा आयोजित ‘कचनकवल–सगरमाथा हातेमालो कार्यक्रम’ मा वरिष्ठ नेता किरातीले पुराना दलहरूसँग 'डिभोर्स' गरेर आउन आग्रह गरेका थिए।
‘अहिलेसम्मको साथका लागि धन्यवाद दिँदै विद्रोह गरेर आउनुस्’, उनले आह्वान गर्दै भनेका थिए ।
लामो समय माओवादीमा रहेका किराती प्रलोपा त्यागेर श्रम संस्कृतिमा गएका हुन्। उनलाई श्रम संस्कृतिले कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ।
वरिष्ठ नेता किरातीका अनुसार कचनकवल–सगरमाथा हातेमालो कार्यक्रम पार्टीको संगठन तराईदेखि हिमालसम्म विस्तार गर्ने अभियान हो।
उनका अनुसार अभियानको मुख्य उद्देश्य संगठन विस्तार, स्थानीय तहसम्म पार्टी संरचना बलियो बनाउने र विभिन्न राजनीतिक दलमा रहेका कार्यकर्तासँग संवाद गर्नु हो।
श्रम संस्कृतिले सबैभन्दा धेरै कोशीमा केन्द्रित बनाएको नेताहरू बताउँछन्।
‘आउँदो चुनावमा धेरैभन्दा धेरै स्थानीय तह र कोशी प्रदेश सरकार बनाउने गरी हामी अभियानमा छौं,’ पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले भने ‘अध्यक्षदेखि कार्यकर्ता तहसम्म हामी सबै परिचालित छौं।’
उनका अनुसार अध्यक्ष हर्क साम्पाङ र सुदन किराती अहिले पूर्वी पहाडी जिल्लाहरू केन्द्रित कार्यक्रममा लाग्दा अन्य नेताहरू तराईतिर सक्रिय छन्। उनले सबैतिर संगठन विस्तार चलिरहेको दाबी गरे।
श्रम संस्कृतिले फागुन २१ मा भएको निर्वाचनमा प्रत्यक्षतर्फ सुनसरी–१, भोजपुर र खोटाङमा जित निकाल्दै समानुपातिकतर्फ चार सिट थपेको थियो। समानुपातिकतर्फ पार्टीले देशभर ३ लाख ८५ हजारभन्दा बढी मत पाएको थियो।