प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले भीषण पानी पर्ने र बाढी आउने पूर्वानुमानबीच सरकारको तयारीबारे संसदमा प्रश्न गरेकी छन्।
मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि नै वर्षाको गतिविधि सुरू भई शुक्रबार र शनिबार भीषण पानी पर्ने पूर्वानुमानसहित विभिन्न जिल्लाहरूमा विपद प्रतिकार्य गर्न भनेको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले जनतालाई कसरी सुरक्षित गरिँदैछ भनेर सरकारलाई प्रश्न गरेकी हुन्।
'८ देखि १२ गतेसम्म भीषण वर्षा बाढी आउँदैछ भनी मौसम पूर्वानुमान छ। जनतालाई सुरक्षित राख्ने पूर्वतयारी के छ? जनताले फेरि पनि भोटेकोशीको जस्तो नियती भोग्न नपरोस्,' उनले भनिन्।
उनले दैनिक उपभोग्य वस्तुहरूको भाउ अक्कासिँदा सरकारले जबाफ नदिएको पनि बताइन्।
'किन यति महँगो भनेर सोधियो भने सरकार निकट व्यक्तिहरुको सिधा जबाफ आउँछ- ३५ वर्ष के गर्यो? अहिले त मध्यपूर्वको युद्ध र बाटो बन्द भएर हो भनिन्छ। बाहिरी कारणले हो। सरकारले हो र भनिन्छ,' उनले भनिन्।
'दसैं, तिहार र छठजस्ता चाडबाडको मुखमा मूल्य निरन्तर उकालो लागिरहेको बेला कालोबजारी र मूल्य नियन्त्रण गर्ने राज्यका संयन्त्रले के गरेका छन्? जनताका दैनिक उपभोग्य वस्तुहरूको सहजीकरण गर्नुपर्दैन र?,' उनले अगाडि भनिन्।