नेपाल कम्युनिस्ट पार्टी (एमाले) कि केन्द्रीय सदस्य पार्वती विशुन्केले पार्टी चुनावी गणितमा मात्र नभई राजनीतिमा पनि पराजित भएको उल्लेख गर्दै गम्भीर आत्मसमीक्षा, कार्यशैली सुधार र व्यापक रूपान्तरणको खाँचो औँल्याएकी छन्।
जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेता विशुन्केले बदलिँदो युग र समाजको मनोविज्ञान अनुसार पार्टी पंक्ति र नेतृत्व बदलिनुपर्नेमा जोड दिइन्।
अध्यक्षको सम्बोधन राम्रो भए पनि अझ प्रभावकारी बनाउनुपर्ने विषयहरू रहेको बताउँदै उनले भनिन्, 'युग फेरियो, जुगजमाना फेरियो, समाजको मनोविज्ञान फेरियो, सबै थोक फेरियो तर हामी आफू नफेरिने भन्ने खालको सोचले हामीलाई गन्तव्यमा पुर्याउँदैन। यसलाई सच्याउनुपर्छ।'
निर्वाचन परिणामबारे बोल्दै उनले पार्टी केवल चुनावी गणितमा मात्र नभई राजनीतिक रुपमा समेत पराजित भएको टिप्पणी गरिन्।
'चुनावमा हारजितलाई हामी स्वाभाविक रूपमा लिन्छौँ र लिनु पनि पर्छ। तर, पार्टी चुनावी गणितमा मात्र होइन, राजनीतिमा पनि पराजित भएको छ,' उनले भनिन्, 'चुनावमा हारियो भने फेरि जित्न सकिन्छ, तर राजनीति हारियो भने उठ्न गाह्रो हुन्छ। त्यसैले निर्वाचन परिणामसँगै हाम्रो राजनीतिक कार्यशैली र जनसम्बन्धको विषयमा गम्भीर समीक्षा गरौँ।'
नेतृत्वमा मौलाउँदै गएको व्यक्तिवादी सोचप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र हुर्कँदै गएको ‘म’ वादको विषवृक्षबारे आत्मचिन्तन गर्न आग्रह गरिन्।
'हामी कम्युनिस्टहरूले आफूलाई केन्द्रमा राख्ने होइन, देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्छ। ‘म’ भन्ने होइन, ‘हामी’ भन्नुपर्छ,' उनले थपिन्, 'यहाँ उपस्थित सम्पूर्ण कमरेडहरूले आफूलाई केन्द्रमा राखेर, ‘म नै सर्वेसर्वा, अरूलाई रैती र दास’ जस्तो व्यवहार गरिरहेका त छैनौँ? क–कसले गरेका छौँ, आफूले आफूलाई सोधौँ, आत्मचिन्तन गरौँ।'
पार्टीको सचिवालय बैठकले गठन गरेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदन कमिटीमा ल्याएर खुला, तथ्यमा आधारित र सामूहिक छलफल गराउनुपर्ने उनको माग छ।
कम्युनिस्ट पार्टीभित्र आलोचना र आत्मआलोचना स्वाभाविक हुनुपर्ने भन्दै यसले पार्टी विधि, पद्धति र सामूहिकतामा चलेको सन्देश दिने उनले बताइन्।
अबको कार्यभार जनसम्बन्ध पुनःस्थापना गर्नु रहेको उल्लेख गर्दै उनले युवा, महिला, दलित, भुइँमान्छे, आधारभूत वर्ग, उद्यमी, किसान, पेसाकर्मी र प्रविधिमैत्री युवाहरूसँग नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिइन्।
साथै, आगामी निर्वाचनलाई दृष्टिगत गर्दै युवा नेतृत्वलाई अघि बढाउनुपर्ने र बासी कुराको बहस गरेर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ थियो।
सधैँ पार्टीमाथि षड्यन्त्र वा प्रतिशोध साधियो भन्ने भाष्यले पार्टी नबन्ने स्पष्ट पार्दै उनले भनिन्, 'पार्टी बनाउन पार्टीभित्रका नेता-कार्यकर्ताको मन मिलाऔँ, अल्पमतको कदर र बहुमतको निर्णय गरी सबैले ‘विन्-विन्’ (Win-Win) को महसुस गर्न सक्ने पार्टी सङ्गठन निर्माण गरौँ।”
उनले एमालेलाई व्यक्तिमुखी नभई संस्थामुखी, यथास्थितिमुखी नभई रुपान्तरणमुखी र जनताबाट टाढिएको नभई जनतामाझ फर्किएको जनमैत्री पार्टी बनाउन गम्भीर बहस, योजना निर्माण र कार्यान्वयनमा जुट्न आह्वान गरिन्।