नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीलाई 'ग्रेसफुल एक्जिट' को बाटो रोज्न सुझाव दिएको बताएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा पन्तले दुई हप्ता अगाडि केही नेतासँग भएको साढे दुई घन्टाको कुराकानीमा आफूले ओलीलाई पार्टीलाई एकजुट बनाउँदै नेतृत्व परिवर्तनको विषय समाधान गर्न गम्भीर छलफल गर्न आग्रह गरेको बताए।
'आफैले ग्रेसफुल एग्जिटको बाटो रोज्नुहोस् भनेर भनेको थिएँ। म यो मान्यतामा कायमै छु,' पन्तले भने।
उनले लोकतन्त्रमा चुनावको नेतृत्व गर्ने व्यक्तिले जिते सरकारको नेतृत्व गर्ने र हारे नेतृत्व छोड्ने परम्परा रहेको धारणा राखे।
'लोकतन्त्रमा जसको नेतृत्वमा चुनावमा गइन्छ, जिते ऊ प्रधानमन्त्री बन्छ, हारे नेतृत्व छोड्छ,' उनले भने।
पन्तले एमालेमा नेतृत्व परिवर्तनसँगै केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुनर्गठन आवश्यक रहेको पनि बताए।
बदलिएको राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीले आफूलाई सच्याउनुपर्ने उनको भनाइ थियो।