सर्वोच्च अदालतमा सबै न्यायाधीशहरू उपस्थित रहेर बैठक बसेको छ।
सोमबार बिहान ९ बजेदेखि नै पूर्ण बैठक (फुलकोर्ट) सुरू भएको थियो।
पेसी सूची जारी भए पनि न्यायाधीशहरू इजलासमा गएका छैनन् भने पूर्ण बैठक निरन्तर चलिरहेको छ।
प्रधान न्यायाधीश मनोजकुमार शर्माले समसमायिक विषयमा कुराकानी गर्दै बैठक राखेका थिए।
सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क देखिएको विषयमा यसअघि गत शुक्रबार पनि पूर्ण बैठक बसेको थियो।
आजको बैठक यसैको निरन्तरता हो।
यसअघको बैठकमा सापकोटासँग न्यायाधीशहरूको सम्बन्धबारे सार्वजनिक भएका विवरणले न्यायपालिकाप्रति प्रश्न उठाएको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा छलफल केन्द्रित थियो।
शुक्रबारको बैठकमा चार–पाँच जना न्यायाधीशले धारणा राखेका थिए। थप छलफल गर्न प्रधान न्यायाधीशले सोमबार बिहान ९ बजे फुलकोर्ट बैठक राखेका थिए। उक्त बैठक अहिले पनि जारी छ।