नेपाली कांग्रेसले पार्टीविरूद्ध सुनियोजित रूपमा भ्रम र आरोप फैलाइएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
‘सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट विषयान्तर गर्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा फैलाइएका भ्रम र आरोपहरू निराधार तथा कपोलकल्पित छन्,’ सभापति गगन थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकार लोकतन्त्र र नागरिक स्वतन्त्रताविरूद्ध गतिविधिमा संलग्न रहेका बेला कांग्रेसले विधिका शासनका पक्षमा आवाज उठाउने गरेको र त्यसपछि कांग्रेसका विरूद्ध भ्रम सिर्जना गरी मूल विषय विषयान्तर गर्ने प्रयास हुने गरेको कांग्रेसको भनाइ छ।
‘जब-जब सरकार उल्टो दिशामा अघि बढ्छ र लोकतन्त्र तथा नागरिक स्वतन्त्रताविरूद्धका गतिविधिमा संलग्न हुन्छ, तब नेपाली कांग्रेस र यसको नेतृत्वले लोकतन्त्र, जनअधिकार र विधिको शासनका पक्षमा स्पष्ट धारणा राख्दै सशक्त रूपमा आवाज उठाउँछ। त्यस्तो अवस्थामा कांग्रेसका विरूद्ध अनेकौँ तानाबाना बुनेर भ्रम सिर्जना गर्दै मूल विषयलाई विषयान्तर गर्ने प्रयास हुने गरेको छ। विगतमा पनि यस्ता प्रवृत्ति पटक-पटक देखिएका छन्। अहिले सार्वजनिक भएका कपोलकल्पित र भ्रामक समाचार पनि त्यस्तै प्रवृत्तिका उपज हुन्। यस्ता षड्यन्त्रपूर्ण प्रयासमा विश्वास नगर्न हामी सबैमा आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनबमोजिम विशेष महाधिवेशन सम्पन्न गरेको पनि उल्लेख गरेको छ।
भ्रामक समाचार तथा तथ्यहीन आरोपप्रति गम्भीर ध्यानाकर्षण
नेपाली कांग्रेसका सन्दर्भमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट विषयान्तर गर्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा फैलाइएका भ्रम र आरोपहरू निराधार तथा कपोलकल्पित छन्।
नेपाली कांग्रेसले पार्टीको विधान र प्रचलित कानुनबमोजिम विशेष महाधिवेशन सम्पन्न गरेको हो। त्यसबाट निर्वाचित नेतृत्व र निर्णयको आधिकारिकतालाई निर्वाचन आयोग तथा सम्मानित अदालतका निर्णयले पुष्टि गरिसकेका छन्। त्यसपश्चात् नेपालको संविधान, प्रचलित कानुन, पार्टीको विधान तथा सम्मानित सर्वोच्च अदालतको आदेशसमेतका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पनि उक्त विषयलाई थप संस्थागत गरेको छ। नेपाली कांग्रेस पार्टीको विधान, विधिसम्मत प्रक्रिया र संवैधानिक निकायका निर्णयको सम्मान गर्दै विधिसम्मत ढङ्गले अगाडि बढिरहेको छ।
जब-जब सरकार उल्टो दिशामा अघि बढ्छ र लोकतन्त्र तथा नागरिक स्वतन्त्रताविरूद्धका गतिविधिमा संलग्न हुन्छ, तब नेपाली कांग्रेस र यसको नेतृत्वले लोकतन्त्र, जनअधिकार र विधिको शासनका पक्षमा स्पष्ट धारणा राख्दै सशक्त रूपमा आवाज उठाउँछ। त्यस्तो अवस्थामा कांग्रेसका विरूद्ध अनेकौँ तानाबाना बुनेर भ्रम सिर्जना गर्दै मूल विषयलाई विषयान्तर गर्ने प्रयास हुने गरेको छ। विगतमा पनि यस्ता प्रवृत्ति पटक-पटक देखिएका छन्। अहिले सार्वजनिक भएका कपोलकल्पित र भ्रामक समाचार पनि त्यस्तै प्रवृत्तिका उपज हुन्। यस्ता षड्यन्त्रपूर्ण प्रयासमा विश्वास नगर्न हामी सबैमा आग्रह गर्दछौँ।
हामी प्रस्ट छौँ– नेपाली कांग्रेस लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा सरकारबाट हुने हरेक सकारात्मक गतिविधिमा सदैव साथमा रहन्छ। तर विधिको शासन, नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविपरीत हुने कुनै पनि क्रियाकलापका विरुद्ध सशक्त रूपमा उभिन्छ। लोकतन्त्रका आधारभूत मूल्यमान्यताका पक्षमा आवाज उठाउँदा आइपर्ने जस्तोसुकै षड्यन्त्रको सामना गर्न नेपाली कांग्रेस तयार छ।
यस सन्दर्भमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयमा व्यक्त गर्नुभएको धारणा पुनः स्मरण गराउन चाहन्छौँ- “बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गरिनुपर्छ। यसमा सरकारलाई हाम्रो पूर्ण साथ र समर्थन छ।
तर अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्नेमा हाम्रो गम्भीर प्रश्न र आशङ्का छ। नेपाल प्रहरीको छापसहित अनुसन्धानमा संलग्न रहेको तथ्य र प्रमाणहरू तथा कथित बयानहरू छानिछानी बाहिर ल्याउनुले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको र समग्र अनुसन्धान नै प्रभावित गर्ने हो कि भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ। सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणहरू हेर्दा अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने आशङ्का पैदा भएको छ। अनुसन्धान गर्ने निकायभित्रैका व्यक्तिहरूको संलग्नताका विषय पनि बाहिर आइरहेका छन्। त्यसैले समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुन आवश्यक छ।”
हामी कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि हट्ने छैनौँ तर अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। अनुसन्धानका विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न नेपाली कांग्रेसको संसदीय दलले निर्णयसमेत गरिसकेको छ। अतः सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न हार्दिक आग्रह गर्दछौँ।
- सभापति गगनकुमार थापाको सचिवालय।