प्रतिनिधि सभाको आगामी अधिवेशन निर्माणाधीन संसद भवनको नयाँ हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
सरकारले आउँदो सोमबार प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ। सम्भवतः फागुन २१ गते अधिवेशन सुरू हुनेछ।
संघीय संसद सचिवालयका अनुसार निर्माणाधीन संसद भवनमा रहेको प्रतिनिधि सभा हल सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ।
हाल नयाँ हलमा दैनिक अडियो/भिडिओ प्रणालीको परीक्षण भइरहेको छ। बैठक बस्नुअघि परीक्षण बैठक समेत गर्ने तयारी गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
‘परीक्षणका क्रममा हल बैठक सञ्चालनयोग्य देखिएमा आगामी अधिवेशन नयाँ हलबाटै सञ्चालन गर्छौं,’ गिरीले भने, ‘यसअघि गत जेठ १५ गते बजेट उक्त हलबाट प्रस्तुत गर्ने तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।’
सभामुख डोलप्रसाद अर्यालले आगामी अधिवेशन नयाँ हलबाट सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
संसद सचिवालयले चेकलिस्ट तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीमाथि दबाब बढाएको छ।
सचिवालयले बैठक कक्षमा सांसद, मन्त्री र दर्शक प्रवेश गर्ने स्थानमा ब्यागेज स्क्यानर जडान गर्न भनेको छ। साथै निषेधित सामग्री सुरक्षित रूपमा राख्न छुट्टाछुट्टै कोठा सहितको व्यवस्था गर्न निर्देशन दिएको छ।
बैठक सुरू हुनुअघि बजाइने जनाउ घण्टी जडान गर्न पनि सचिवालयले आग्रह गरेको छ। प्रस्ताव निर्णायर्थ पेस गर्दा मत विभाजनको प्रक्रिया सञ्चालन गर्न समेत घण्टी आवश्यक पर्ने सचिवालयको भनाइ छ।
त्यसैगरी, सचिवालयले सभामुखको आसनसँगै माइक नियन्त्रण गर्न सकिने स्विच राख्न तथा हरियो, पहेँलो र रातो बत्तीको व्यवस्था गर्न भनेको छ। सभामुखको आसन पछाडि कार्यव्यवस्था परामर्श समितिका कर्मचारी बस्ने स्थान व्यवस्थापन गर्न पनि भनिएको छ।
मिडिया सेन्टर, सुरक्षाकर्मी र मेडिकल टोलीका लागि छुट्टै कोठा व्यवस्थापन गर्न निर्देशन दिइए पनि बैठक सञ्चालनको मिति नजिकिँदा समेत मिडिया सेन्टरका लागि आवश्यक व्यवस्था हुन सकेको छैन।
संसद सचिवालयका स्रोतका अनुसार नयाँ भवनमा केही प्राविधिक कमजोरी समेत देखिएका छन्। भवनभित्र टेलिफोन नेटवर्क नचल्ने समस्या रहेको पाइएको छ भने पूर्ण सञ्चालनमा नआइसकेकाले शौचालयमा पानी आपूर्तिमा समेत ढिलाइ भइरहेको छ।
‘क्यामरा पर्सनहरूले भवनमा पर्याप्त प्रकाशको अभाव रहेको बताएका छन्,’ भवन निरीक्षणमा संलग्न सचिवालयका एक अधिकारीले भने, ‘४० वाटका साना बल्ब प्रयोग गरिएकाले उज्यालो पर्याप्त छैन। हामीले थप प्रकाशको व्यवस्था गर्न सुझाव दिएका छौँ।’
सभामुख अर्यालले भने निर्माण कम्पनीले काममा ढिलाइ गरेकाले नयाँ हलमै बैठक सञ्चालन गरेर आवश्यक पूर्वाधार पूरा गर्न दबाब दिने रणनीति अपनाइएको बताए।
‘अब हामी नयाँ हलमै बैठक सञ्चालन गर्छौं। सञ्चालनका क्रममा देखिने कमी–कमजोरी तत्काल सुधार गर्न सम्बन्धित पक्षलाई दबाब दिन्छौँ,’ उनले भने, ‘संसद सचिवालयका सबै शाखाले आवश्यक टेबल, कुर्सी तथा कार्यालय सामग्रीको व्यवस्था गर्न निर्माण व्यवसायीलाई दबाब दिन मैले निर्देशन दिएको छु।’
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद भवनको शिलान्यास २०७६ असोज १ गते गरिएको थियो।
सुरूमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमै काम सकिएन। शिलान्यास भएको छ वर्ष बितिसक्दा पनि भवन पूर्ण रूपमा तयार हुन सकेको छैन।
हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ९० प्रतिशत पुगेको छ भने प्रतिनिधि सभाको नयाँ हल, राष्ट्रियसभा हल, संसदीय दलका कार्यालय, समितिका कक्ष तथा अन्य संरचनाको काम चलिरहेको छ।
सिंहदरबारको पुतली बगैँचा रहेको १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संसद परिसरको मुख्य निर्माण ठेक्का तुँदी-सेक ज्वाइन्ट भेन्चरले पाएको हो।
सुरूमा करिब ५ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको म्याद पटक-पटक थपिँदा लागत पनि बढेको छ। निर्माण कार्यबाहेक भित्री साजसज्जा, अडियो प्रणाली तथा अन्य प्राविधिक पूर्वाधारको काममा पनि २ अर्ब ३४ खर्च गरिएको छ। लागत अझै बढ्न सक्ने देखिएको छ।
प्रतिनिधि सभाको हल तयार पारिएको भएपनि मूल गेट भित्रको लबि, राष्ट्रिय सभाको हल, प्रधानमन्त्री र मन्त्रीहरू बस्ने कक्ष तथा सभामुखको कार्यकक्षको काम अझै सकिएको छैन ।