गोरखा नगरपालिका र नगर विकास कोषबीच गोरखामा ‘बहुउद्धेश्यीय बिल्डिङ’ निर्माण गर्ने सम्झौता भएको छ।
नगर विकास कोषबाट ५ करोड ४६ लाख ९२ हजार रुपैयाँ ऋण लिएर नगरपालिकाले बहुउद्धेश्यीय भवन निर्माण गर्न लागेको हो।
उक्त भवन गोरखा नगरपालिका वडा नम्बर ६ र ७ को सीमाना क्षेत्र गोरखाको पुरानो बसपार्क नजिकै बन्नेछ।
आइतबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतबीच ऋण सम्झौता भएको हो।
वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ऋण लिएको हो।
उक्त ऋण २० वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ। गोरखास्थित पुरानो बसपार्क र नयाँ बजारबीचमा रहेको खोल्सा आसपासमा सटर निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ।
मेयर पन्तले छिट्टै ठेक्का निकालेर एक वर्षभित्र सटरहरू निर्माण गरिसक्ने बताए।
‘खोल्सी व्यवस्थापन गरी त्यहाँ सटर निर्माण गर्छौं,’ उनले भने।
नगर विकास कोषका कार्यकारी निर्देशक महतले जतिसक्दो छिटो काम सक्न आग्रह गरेका थिए।
‘जति छिटो काम सक्यो उति छिटो नगरपालिकालाई फाइदा हुन्छ,’ उनले भने।