सुर्खेतमा युवायुवाती जंगलमा मृत अवस्थामा परेका छन्।
दैलेखको ठाटीकाँध गाउँपालिका–२ का १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनीता भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका– ४ भैरव सामुदायिक वनको एउटै रूखमा झुण्डिएको अवस्थामा उनीहरू फेला परेका थिए। दाउरा काट्न गएका स्थानीय एउटै रूखमा झुण्डिएका महिला र पुरुष देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक यादवका अनुसार दिउँसो मात्रै मृतकको पहिचान खुलेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आपसमा बिहे गर्ने भन्दै उनीहरू एक महिना पहिले घरबाट हिँडेका थिए। उनीहरू एकैसाथ हिँडेकोबारे केटा–केटी दुबैका परिवार जानकार थिए।
सुरेन्द्रले पहिलो दिन सुनितालाई घरमै लगेका पनि थिए। त्यसपछि भने उनीहरु सुर्खेतमा आइ बस्दै आएको प्रहरीले जानकारी दिएको छ।
केटा–केटी दुबै पक्षका घर परिवारले उनीहरूलाई कुनै दबाव नदिएको बताउँदै आएका छन्। पोष्टमर्टमका लागि दुवै जनाको शव प्रदेश अस्पताल कालीगाउँमा राखिएको छ ।