इन्द्रजात्राको पहिलो दिन अर्थात् भदौ शुक्ल द्वादशीमा ‘उपाकु वनेगु’ को अवसर पारेर धरहराकाे मार्ग खोलिएको थियो। निर्माण क्रममा बन्द भएको यो मार्ग उपाकुको मार्ग भएको हुँदा स्थानीयको माग अनुसार मंगलबार खुला गरिएको हो।
उपाकु वनेगु भनेर वर्षभरि मृत्यु भएकाको परिवारजनले दियो अनि धुप बाल्दै हिँडेका थिए। यो दिन विवादित धरहराको मार्गसँगै उपाकु हिँड्नेले भिमसेनस्थान, भगवतीबारी, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट, तेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरे।
यो दिन काठमाडौंको भित्री नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा धुप वा काँचो (नपोलेको) दियो बाल्दै हिँडेमा पितृहरू मोक्षको लागि जाने विश्वास छ।
लिच्छविकालमै सुरू भएकाे मानिने उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्ग आकारको रहेको मानिन्छ। नगर खड्ग आकारमा बनेको हुँदा नगरको सीमा क्षेत्रबाट परिक्रमा गर्दा खड्ग आकारमै गर्नुपर्ने चलन छ। त्यही सीमालाई संकेत गर्दै र मानिस उपाकु मार्गमा नअल्मिउन भन्ने हिसाबमा बाटाे छेउमा सेताे पीठाे पनि छरिएकाे थियाे।
मंगलबारबाटै काठमाडौंको हनुमानढोकामा य:सिं ठड्याएसँगै विधिवत् रुपमा येँया (इन्द्रजात्रा) सुरु भएको हाे। बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर यःसि ठड्याइएको हो। असोज १ गते बिहान ५ बजेर ३५ मिनेटमा य:सिं ढालेपछि जात्रा समापन हुन्छ। त्यस बीच पुलुकिसी, लाखे, सभा भकु नाच, दे प्याखः, कुमारी रथ यात्रा लगायत विभिन्न गतिविधि हुन्छन्।