एक जना युवक ठूली भेरी नदीमा हाम फालेर बेपत्ता भएको विषयमा चेकजाँचमा खटिएका पाँच जना प्रहरीविरूद्ध किटानी जाहेरी दर्ता भएपछि डोल्पामा उत्पन्न विवाद साम्य भएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले चेकजाँचको लागि भनेर बाटोमा खटिएका पाँच जना प्रहरीका विरूद्ध पीडित परिवारको तर्फबाट किटानी जाहेरी दर्ता भएपछि आइतबार बेलुकीदेखि नै पीडित पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जनजीवन सहज भएको बताए। स्थानीयले घटनाको विरोधमा जिल्लाको यातायात सेवा ठप्प पारेका थिए।
ड्युटीमा खटिएका प्रहरीका विरूद्ध के–कस्तो मुद्दा दायर भएको भन्ने बारेमा भने प्रजिअ कोइरालाले खुलाउन चाहेनन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी रूकबहादुर खड्काले पनि सोमबार बिहानदेखि दिउँसो ४ बजेसम्म पटक पटक फोन सम्पर्क गर्दा फोन उठाएनन्।
स्रोतका अनुसार बेपत्ता रोकायकी श्रीमती धनमती रोकायले प्रहरीका कमजोरी तथा डर त्रासले गर्दा ज्यान जोगाउन भाग्ने क्रममा आफ्ना श्रीमान नदीमा हाम फालेर बेपत्ता भएको भन्दै सवारी चेकजाँचमा खटिएका पाँच जना प्रहरीका विरूद्ध किटानी जाहेरी दिएकी छन्। जसमा सहायक प्रहरी निरीक्षक तथा प्रहरी चौकी खदाङमा इन्चार्ज हेमराज कार्की, प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैशी, प्रहरी जवान अशोक साउद र घुमुवा प्रहरी नरेन्द्र खड्का छन्।
पाँच जना प्रहरी अधिकारी विरूद्ध मुद्दा दायर भएपछि मात्रै स्थानीयले यातायात बन्द लगायतका जारी आन्दोलन फिर्ता लिएका थिए।
घटना छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
घटना अनुसन्धानका लागि सुर्खेतबाट एसपी नेतृत्वको टोली आइतबार राति अबर मात्रै डोल्पा पुगेको थियो। एसपी मगरसँग पनि फोन सम्पर्कको प्रयास सफल हुन सकेन।
भएको के हो?
पुस १८ गते बेलुकी ४ बजेदेखि त्रिपुरासुन्दरी नगरपालिका – ५ ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाय बेपत्ता छन्।
लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी खदाङबाट पाँच जनाको प्रहरी टोली खटिएर सोही वडाको छेप्क पुलनजिक दिउँसोदेखि सवारी चेकजाँच गरिरहेको थियो।
सोही क्रममा रोकाय आइपुगेपछि उनी प्रहरीलाई देखेर भाग्दै ठूली भेरी नदीमा हाम फालेको प्रहरीको दाबी छ। तर, रोकायका आफन्त तथा पीडित पक्षसहित स्थानीयले भने छेप्के पुलमा प्रहरीले चेकजाँच गर्ने क्रममा रोकायलाई लखेटेको हुँदा आत्तिएर भाग्ने क्रममा नदीमा हाम फालेर बेपत्ता भएको बताउँदै आएको छ।
सोही विषयमा स्थानीय र प्रहरीका बीचमा विवाद उत्पन्न भएपछि शनिबार दिउँसो स्थानीयले त्रिपुरासुन्दरी नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय करोपगार्ड तोडफोड गरेका थिए।
युवक बेपत्ताको विषयलाई लिएर त्रिपुरासुन्दरी – ५ ल्हाँ गाउँका स्थानीयले इप्रकामा तोडफोड गर्दै आक्रमणको प्रयास गरेपछि प्रहरी भागेर ज्यान जोगाएका थिए।
घटनापछि इप्रका करोपगार्डका दशै जना प्रहरी जिल्लामा स्थानान्तरण गरिएका छन्।