भक्तपुरमा गोली लागेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्।
सोमबार साँझ मध्यपुर थिमी नगरपालिका-६ राई टोलका सनिप चाम्लिङ राई बन्द कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी परिसरका प्रहरी निरीक्षक सुभेष अधिकारीले जानकारी दिए।
उनका अनुसार मृतक सनिपले २२ बोरको राइफलले आफैमाथि प्रहार गरेको हुनसक्ने आशंका छ।
‘आधुनिक हतियार २२ बोरको राइफलले आफैमाथि कन्चटमा प्रहार गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिन्छ। डिएसपीको कमाण्डमा टोली परिचालन भई अनुसन्धान भइरहेको छ,’ उनले भने।
उक्त हतियार लाइसेन्स प्राप्त हुनसक्ने पनि प्रहरीको भनाइ छ। यसबारे बुझ्ने काम भइरहेको उनले बताए।
मृतकसँगै घटनास्थलमा बन्दुक पनि फेला परेको छ।
घटनासँग सम्बन्धित थप विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ।