तनहुँको ब्यासमा दुई दिनमा दुइटा चितुवा मृत भेटिएका छन्।
बुधबार ब्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत फेला परेको हो।
‘पोखरा-मुग्लिन सडकखण्ड (हाइवे) बाट ५० मिटर नजिकै ढाड भाँचिएको अवस्थामा मरेको चितुवा फेला परेको हो,’ तनहुँस्थित वन कार्यालयका प्रमुख केदार बरालले सेतोपाटीसँग भने, ‘करिब ८ वर्ष उमेरको ४० केजी तौल भएको चितुवा मृत भेटिएको हो।’
उक्त चितुवा सडकमा चलेका गाडीले ठक्कर दिँदा घाइते भएर मरेको हुनसक्ने उनले अनुमान गरे।
‘मरेको चितुवाको छाला काटेर मासु गाडिन्छ,’ उनले भने, ‘छाला चितवन राष्ट्रिय निकुञ्ज पठाउँछौं।’
सोमबार पनि ब्यास वडा नम्बर ७ मा बच्चा चितुवा मृत भेटिएको थियो।