ललितपुरस्थित किस्ट अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
टेकुकी ती ७८ वर्षीया महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो, झाडापखाला र बान्ता भएको थियो। अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पाटन अस्पतालले पनि किस्टमा रेफर गरिदिएको किस्ट अस्पतालका प्रमुख कार्यकारी अधिकत अमिश पाठकले जानकारी दिए।
‘हामीले आइसोलेसनमा राखेर उहाँको उपचार गरिरहेका थियौं। मंगलबार राति १ बजे उहाँको मृत्यु भएको हो,’ पाठकले भने, ‘आज बिहान ९ बजे उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।’
यता, पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माका अनुसार जनकपुरकी ती ३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि भएको थियो।
आजै सप्तरीमा थप एक जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
उता बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेका दुई पुरूषको मृत्यु भएको थियो। तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ।