काभ्रेपाल्चोकको पाँचखालस्थित वीरेन्द्र तालिम केन्द्रमा रहेका ६२ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूमध्ये अधिकांश सैनिकहरू शान्ति सेनामा जाने पर्खाइमा थिए। गत भदौ २९ गते लिबिया जान लागेका ३७ सैनिकलाई कोरोना संक्रमण देखिएको थियो।कोरोना संक्रमण देखिएकै कारण लिबियाको उडान स्थगित भएको थियो।
उनीहरूलाई देखिएकै आधारमा कन्ट्याक ट्रेसिङ गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको सैनिक स्रोतले सेतोपाटीलाई बतायो।
'शान्ति मिसनका लागि जाने सैनिकहरूले तालिम लिने ठाउँमा यसरी संक्रमण देखिँदा हामीलाई झस्काएको छ। मिसन जाने तयारी र सुरक्षामा खटिएका गरी पाँचखालमा २ हजार भन्दा सैनिक छन्,'सैनिक स्रोतले भन्यो,'कोरोनाको कारण शान्ति मिसन प्रभावित नहोस् भनेर हामीले सतर्कता अपनाएका छौं।हामीले बढीभन्दा बढी सचेत भएर यसलाई अन्त्य गर्ने काम सुरू गरेका छौं।'
देशभर अहिलेसम्म नेपाली सेनामा २ हजार १ सय ४५ जना सैनिकलाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये ४ सय ८९ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।