मिस विभा ब्युटी पेजेन्ट-२०२६ को तयारीका क्रममा सहभागी एक युवतीलाई प्रलोभनमा पारी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ६ बस्दै आएका वर्ष ४१ का उद्धव अधिकारीलाई बुधबार पक्राउ गरिएको हो।
अधिकारीले कार्यक्रममा सहभागी हुन आवेदन दिएकी २२ वर्षीया युवतीलाई कार्यक्रममा कसरी प्रस्तुत हुने, टाइटल कसरी जित्ने तथा प्रस्तुतीकरण सम्बन्धी तालिम दिने भन्दै विभिन्न प्रलोभन देखाइएको थियो। साथै प्रतियोगितामा जिताइदिने आश्वासनसमेत दिइएको थियो।
फागुन ८ गते दिउँसो करिब ४:०० बजे काठमाडौं बानेश्वरस्थित अफिसमा बोलाई अभद्र प्रस्ताव राखिएको पीडितको उजुरीमा उल्लेख छ।
त्यसपछि बानेश्वरबाट ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँतर्फ जाँदै गर्दा कुराकानीकै क्रममा मनमुटाव भई सार्वजनिक स्थलमा हातपात तथा अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।
आरोपीमाथि म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।