सुर्खेतको बराहताल गाउँपालिका–२ सिस्नेरी गाउँमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।
स्थानीय बलबहादुर थापाका अनुसार नजिकैको हरियाली सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि घर जलेका हुन्।
खरका छाना भएकाले घरहरूमा लागेको आगो तत्काल नियन्त्रण गर्न नसकिएकोले पूर्ण रूपमा जलेको बराहताल–२ का वडा अध्यक्ष योवराज कार्कीले बताए। उनका अनुसार बस्तीमा रहेका अरू घरहरू पनि आगलागीको जोखिममा छन्।
उक्त गाउँमा १७ घर रहेको उनले बताए।
‘हावा चलिरहेकाले गाउँ नजिकै वनमा लागेको आगो पनि नियन्त्रणमा आउन सकेको छैन, अरू घरहरू पनि जोखिममा छन्,’ उनले भने, ‘प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।’