नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह देखिएको छ।
नेपाल प्रहरीले आज सार्वजनिक गरेको तीन महिने कार्यप्रगतिमा उल्लिखित विवरणअनुसार तीन महिनाको अवधीमा ५८१ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ।
प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ज भएका छन्।
जसमा तीन महिनामै ५८१ जनाले ज्यान गुमाएको र १ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै सो ६ हजार ७२१ जना सामान्य घाइते भएका छन्।
तीन महिनाको अवधिमा ७ लाख ३६ हजार ४७० सवारी साधनलाई कारबाही गरिएको छ।
सवारी दुर्घटनाको घटनाबाट प्रहरीले ५६ करोड ४६ लाख ५४ हजार २ सय रूपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले तीन महिनाको अवधिमा ठुलाठुला सवारी दुर्घटना हुँदा मृतकको संख्या बढेको बताए।
यो वर्ष तुलनात्मक रूपमा सवारी दुर्घटनाको घटना अघिल्लो वर्षको तुलनामा बढेको डिआइजी कडायत बताउँछन्। मृतकको संख्या भने अघिल्लो वर्षको यही समयको तुलनामा केही कम रहेको उनले बताए।