रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौंको होल्डिङ सेन्टरमा छिन्।
उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य। एक्लो जीवन कटाइरहेकी उनलाई बाँकी जीवन कहाँ र कसरी कटाउने भन्ने चिन्ताले पिरोलेको छ।
‘बुढा पनि अलग्गै हुनुहुन्छ। छोरी बिहे गरेर गइसकिन्। टिमुरेमा पनि जग्गा–जमिन केही छैन। घर पनि छैन। अलिअलि भएको पनि बाढीपहिरोले लग्यो,’ उनले सुनाइन्, ‘सरकारले पनि हेरेको छैन। संस्थाले हेरेको छ, खुवाएको छ।’
उनीसहित भोटेकोशी बाढीबाट विस्थापित भएकाहरू दुई महिनादेखि काठमाडौंमा आश्रित छन्।
काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा अस्थायी रूपमा बसिरहेका उनीहरू थातथलो फर्कने योजनामा छन्। सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएको भन्दै उनीहरू थातथलो फर्कने भएका हुन्।
लाङराङ तामाङ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङ सरकारले आफूहरूको स्थायी व्यवस्थापनको कुनै जानकारी नदिएको र उपस्थिति देखाउन नसकेको गुनासो गरे।
सधैँ होल्डिङ सेन्टरमा बस्ने विषय सम्भव नभएकाले तिहारपछि टिमुरे फर्किने उनले सुनाए।
‘हामी सधैँ यहीँ बसेर हुँदैन। हामी थातथलो फर्कन तयार छौं। हामी जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन छ। छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ। हामी त्यसैका लागि फर्कन चाहन्छौं,’ उनले भने।
टिमुरेमाथि डाँडामा बासस्थान बनाउने योजना रहेको उनले सुनाए। पुनर्वासका लागि खाद्यान्न, अस्थायी टहराको व्यवस्था गरिदिन उनले सरकारलाई आग्रह गरे। बाढीपछि राहतस्वरूप आएको पैसा प्रयोगमा ल्याउन सरकारलाई उनको सुझाव छ।
काठमाडौंको गुम्बामा बास बस्दा समाज, संस्कृति, खानपिन नमिलेको उनको अनुभव छ। उनकाअनुसार बाढीबाट टिमुरेका २० देखि २५ प्रतिशत स्थानीयमात्र जीवित छन्। ‘हाम्रो अभिभावक भनेको त सरकार हो। हामी भारतबाट आएको शरणार्थी होइन, चीनबाट आएको शरणार्थी होइन। लिच्छवीकालदेखि नै त्यो रसुवागढी नाका सञ्चालनमा आयो। हामी पुर्खा नाकाको सुरक्षाकर्मी हो,’ उनले भने।
अभिभावकविहीन बालबच्चाको भविष्य पनि चिन्ताको विषय बनेको तामाङले सुनाए। ‘सरकार ! हामीबीच आएर मल्हम लगाउने काम गर्नुहोला। बालबच्चा देशका कर्णधार हुन्। उनीहरूको विकास गरौँ। उनीहरू भए भोलि देशलाई फाइदा होला। स्वास्थ्य, शिक्षामा ध्यान दिनपर्छ,’ उनले सरकारलाई आग्रह गरे।
कामी नुर्बु तामाङ।
सरकारले बाढीपीडितको समस्या सम्बोधन नगरेमा सडकमा आउन बाध्य हुने उनले चेतावनी दिए।
टिमुरेबाट उद्धार गरिएका पीडितलाई सुरूमा १० दिन यल्लो गुम्बामा बसेका थिए। त्यसपछि उनीहरुलाई मुस्ताङ गुम्बामा पठाइए।
अर्की पीडित पासाङ तामाङले आफूहरूको प्रमुख समस्या बासस्थानकै रहेको सुनाइन्। सबै टिमुरेबासीलाई गाउँ फर्किएर बस्ने व्यवस्था मिलाइदिन उनले सरकारलाई आग्रह गरिन्।
‘सरकारले, संसारले हाम्रो दुःख देखेको छ। पहिलो त हामीलाई बासकै समस्या छ,’ उनले भनिन्, ‘हामी हाम्रै गाउँ फर्कन चाहन्छौं। गाउँ फर्कन बाटो बनाउनपर्ने छ। त्यो गरिन्जेल तत्काललाई सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिएको भए धेरै राम्रो हुन्थ्यो।’
पासाङ तामाङ
भदौ १० सम्झँदा पीडितहरू अझै पनि झस्कन्छन्। टिमुरेमा बाढी आएपछि डाँडा चढेर उनीहरूले ज्यान जोगाएका थिए।
बाढी आएको भोलिपल्ट उनीहरूलाई उद्धार गरी धुन्चे ल्याइएको थियो।
त्यहाँबाट स्थलमार्ग हुँदै उनीहरूलाई काठमाडौं ल्याइएको थियो। सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गर्यो। तर, पीडितहरू उक्त पैसा काठमाडौंमा बस्न अपर्याप्त हुने बताउँछन्।
काठमाडौँमा परिवार बस्न फ्ल्याट खोज्दा २०/२५ हजार रुपैयाँ लाग्ने र त्यो अपर्याप्त भएको बाढीपीडित पेम्बा जाङ्मु घलेले सुनाइन्।

‘अलिअलि पैसा हुने त गयो। हामी त केही छैन। पीडितै हो। बच्चा विदेश गएको पनि त्यस्तो केही छैन। भएको बच्चा पढ्दै छ। १५ हजारले घरभाडा तिर्ने कि ? रासनको तिर्ने कि ? पढेको तिर्ने कि ?’ उनले प्रश्न गरिन्। पैसाभन्दा पनि सरकारले गाउँ फर्कने वातावरण बनाइदिए सहज हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘मकै पिसेर, चामल पिसेर खाने गरेर भएपनि हामी गाउँमै जाने हो।’
मुस्ताङ गुम्बामा २०७ जना पुरुष, २०४ जना महिला गरेर ४११ जना आश्रित छन्। तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा हुन्।
तस्बिरहरूः







सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।