दुबईको बुर्ज खालिफामा काम गर्दागर्दै इञ्जिनियर बनेका विनोद कुमार विक एसइई उत्तिर्ण भएका छन्।
एसइई परीक्षाको बिहीबार प्रकाशित भएको नतिजा अनुसार उनले ३.५ जिपिए ल्याएर उत्तिर्ण भएका हुन्।
पोखराको पामे निवासी विनोद डेढ वर्षअघि मात्र मलेसियाबाट नेपाल फर्केका थिए।
मलेसियामा पनि उनले टावर बनाउन इञ्जिनियरको काम गरेका थिए। उक्त टावरको काम सकिएपछि नेपाल फर्केर स्कुल भर्ना भएको विनोदले बताए।
‘पहिलो पटक काम गर्न दुबई जाने बित्तिकै पढाइलाई निरन्तरता दिन फर्किने सोचमा थिएँ, अहिले आएर निरन्तरता दिएँ,’ उनले सेतोपाटीलाई भने, ‘अब पढाइ र काम दुबैलाई साथसाथ लैजान्छु।’
स्कुल पढ्दै गर्दा एसएलसी परीक्षा फेल भएपछि उनी सन् २००३ मा दुबई पुगेका थिए।
लेबर काममा दुबई पुगेका उनले विश्वकै अग्लो बुर्ज खालिफा टाउन बनाउने काम पाएका थिए। त्यहीँ काम गर्दागर्दै उनलाई कम्पनीले सर्भेयरमा पदोन्नति गरिदिएको थियो।
सोही कम्पनीमा काम गर्दागर्दै विनोद भारतको मुम्बईमा इञ्जिनियरका रूपमा काम गर्न पुगेका थिए।
भारतमा काम गर्दा कम्पनीले दिएको सर्टिफिकेट र सिफारिसका आधारमा उनले भारतको खुला विश्वविद्यालयबाट इञ्जिनियरिङमा स्नातक गरेका थिए।
दुबईमा बुर्ज खालिफा बनाउँदा बिसिक्स कम्पनीमा काम गरेका विनोदले मुम्बईमा सोही कम्पनीको सिफारिसमा सामसुङ सिएनटी इञ्जिनियरिङमा काम गरेका थिए।
मलेसियाको काम सकेर नेपाल फर्किएपछि उनले पामेमै कृषि फार्म खोलेका थिए।
उक्त फार्म बिक्री गरेर उनले अहिले निर्माण कम्पनी खोलेका छन्।
विनोद कुमार कन्स्ट्रक्सन स्थापना गरेर उनले बाटो निर्माण, इनार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाल निर्माण लगायतका काम गरेका छन्।
यो पनि:
एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’ बने