कार्यालयबाट हुने सेवा प्रवाहलाई सहज र सरल बनाउन बुटवल उपमहानगरपालिकाले एआई च्याटबट संचालनमा ल्याएको छ।
कार्यालयबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट संचालनमा ल्याएको हो।
बुटवल नामक च्याटबटको आइतबार उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरेका हुन्।
च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा जनताको पहुँचलाई सहज बनाउनका लागि च्याटबट संचालनमा ल्याइएको बताए।
नगरप्रमुख-उपप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने उनले बताए।
नगर प्रमुख पाण्डेयले सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र संचारको माध्यमबाट अधिकतम लाभ लिँदै उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए।
युएनडिपीका प्रदेश प्रमुख सुदीप अर्यालले बुटवल उपमहानगरपालिका सामाजिक संजालमा आधारित च्याटबट संचालनमा ल्याउने देशकै पहिलो स्थानीय तह बनेको बताए। बुटवलले सुरूवात गरेको च्याटबटले देशभर सकारात्मक सन्देश दिने बताए।
उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट नेपाली र अंग्रेजी भाषामा एआइ च्याटबट सेवाबारे जानकारी लिन सकिने बताए।