पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखराका सडक दायाँ-बायाँको संरचना भत्काउन थालिएको छ।
पोखरा महानगरपालिकाले सोमबार पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ-बायाँको संरचनामा डोजर लगाएर भत्काउन थालेका हो।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार गरी ४ लेन बनाइँदैछ।
सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ।

सडकको बीच भागबाट २३/२३ मिटर दायाँ-बायाँका संरचनामा डोजर चलाएको महानगरका मेयर धनराज आचार्यले बताए।
महानगरले अहिले सडकको दायाँ-बायाँका अस्थायी संरचनामा डोजर लगाएको छ।
महानगरले एक महिनाअघि नै सोमबार भत्काउन लागिएका संरचना आफैं भत्काउन सूचना दिएको थियो। सडक मापदण्डभित्र पर्ने स्थायी संरचना मुआब्जा वितरण सकिएपछि भत्काउन थालिने मेयर आचार्यले बताए।

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरभित्र मात्रै १७० घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ। जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको सडक आयोजनाको पश्चिम खण्ड प्रमुख अमित श्रेष्ठले जानकारी दिए। उक्त संरचनाका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा बुझिसकेका छन्।
सडक विस्तार आयोजन अन्तर्गत पश्चिम खण्डमा २ करोड ७० लाख रुपैयाँ मुआब्जा वितरण सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार अझै ६ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ।

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत पोखरादेखि जामुनेसम्म ३८ किमी सडकको ठेक्का चिनिया कम्पनी एनहुई केयुयन हाइवे एण्ड ब्रिजले पाएको छ।
कम्पनीसँग २०७८ जेठ ३ गते पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैया (सेती पुलबाहेक) ठेक्का सम्झौता भएको थियो।
सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २/२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको श्रेष्ठले बताए। यी दुबै पुल आकर्षक सिग्नेचर पुल बन्ने उनले बताए।

सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठूला र १२ वटा साना पुल बन्नेछन्।
मुग्लिन पोखरा सडकको पोखरा खण्डमा सडक विस्तारको काम हालसम्म जम्मा ८ प्रतिशत सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए।



