वान एक्स बेटिङमार्फत् सट्टेबाजी गराएको एवं विज्ञापन गरेको आरोपमा ११ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जसमध्ये १० जना पक्राउ परेका छन् भने एक जना फरार छन्।
कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई सट्टेबाजी गराएको आरोपमा प्रहरीले प्रमुख अभियुक्तको रूपमा पेश गरेको छ।
यस्तै विज्ञापन गरेको आरोपमा कलाकार एवं युट्युबरहरूलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
युट्युबर एवं कलाकारहरू जलन घर्मिमगर, अलिश राई, गणेश देवकोटा(जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स- पवन खतिवडा) लाई प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूले प्रहरीसमक्ष बयान दिँदा २० सेकेन्डको विज्ञापन गर्दा २५ देखि ८० हजारसम्म लिएको बताएका छन्।
यस्तै, प्रहरीले एक जना युट्युबरलाई पनि फरार प्रतिवादी बनाएको छ। मोरङ विराटनगरका २४ वर्षीय कुशल पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
सरकारी वकिलले अभियुक्त दिनेश र अनिताले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको छ।
राष्ट्र बैंकको ऐन अनुसार बिगो जफत गरी बिगो रकमको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुबै सजाय हुने उल्लेख छ।
मुलुकी अपराध संहिता, २०७४ दफा १२५ अनुसार जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअनुसार एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न पनि माग गरेको छ। त्यसबाहेक उनीहरू दुबैविरूद्ध एकीकृत कसुर बापत थप सजायको माग गरेको छ।
त्यस्तै युट्युबरहरू एवं कलाकारहरूविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको हो।
उक्त कसुरको दफा २५ को उपदफा १ र २ बमोजिम सजायको माग सरकारी वकिलले गरेको छ। उनीहरूलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ।