रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुनै निश्चित ठाउँ र पसल तोकेर विद्यार्थी र अभिभावकलाई पोशाक खरिद गर्न बाध्य नबनाउन विद्यालय तथा क्याम्पसहरूलाई निर्देशन गरेको छ।
क्याम्पस तथा विद्यालयहरूले पोशाकको नाममा निश्चित व्यापारीसँग मिलेर विद्यार्थी र अभिभावकहरूलाई महंगोमा पोशाक खरिद गर्न लगाएको गुनासो आएको भन्दै त्यस्तो कार्य नगर्न निर्देशन गरेको हो।
सोमबार नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विज्ञप्ति जारी गर्दै कतिपय विद्यालयहरूले कुनै एक ठाउँबाट मात्र पोशाक खरिद गर्न बाध्य गरेकोप्रति तिलोत्तमा नगरपालिकाको ध्यान आकर्षित भएको उल्लेख गरेका छन्।
नगरपालिकाले विद्यार्थी र अभिभावकको भावनाविपरीत कुनै कार्य नगर्न र नगराउन आग्रह गर्दै कसैले नियमविपरीत यस्ता कार्यहरू गरेको पाइएमा नियमअनुसार कारबाही गरिने समेत जनाएको छ।
‘नगरपालिकाभित्र सञ्चालित सामुदायिक, संस्थागत विद्यालय तथा क्याम्पसहरूले विद्यार्थीहरूको पोशाकका सम्बन्धमा निश्चित व्यापारीहरूसँगको मिलेमतोमा टेण्डरमार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई बाध्यात्मक परिस्थिति सृजना गरेको गुनासो प्राप्त भएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावनाविपरीत त्यस्तो कार्य नगर्नू/नगराउनू हुन जानकारी गराइन्छ, साथै नियमविपरीत यस्ता कार्यहरू गरेको पाइएमा नियमानुसार कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।