बिहान करिब साढे १० जति बजेको थियो होला। म गोठमा वस्तुभाउको स्याहारसुसार गर्दै थिएँ। आकाशमा बादल डम्मै लागेको थियो।
केहीबेरमा आकाशमा हेलिकप्टरको आवाज सुनेँ। हेलिकप्टर उडेको आवाज अरू बेला पनि सुनिन्थ्यो तर आज हेलिकप्टरको आवाज अलि फरक थियो। अलिक नजिकै भएकाले त्यस्तो आवाज आएको होला भन्ने सोचेँ।
बाहिर निस्किएर आकाशमा हेरेँ तर बादलका कारण केही देखिनँ। त्यसपछि म आफ्नै काम गर्न लागेँ।
केहीबेरमै वडाध्यक्ष ङिमाछिरी लामाको फोन आयो। उहाँले हेलिकोप्टर यतैतिर दुर्घटनामा परेको छ रे भन्नुभयो।
केहीबेर अघिमात्रै हेलिकोप्टरको आवाज सुनेकाले म तत्काल सोही दिशातिर कुदेँ। केही पर पुगेपछि पेम्बा छिरिङ शेर्पालाई देखेँ। उनले केही पड्केको जस्तो आवाज सुनेका रहेछन्। त्यसपछि म र उनी सँगै आवाज आएतिर गयौं।
कुहिरो लागेकाले धेरै टाढसम्म देखिन सक्ने अवस्था थिएन। केही पर गएपछि दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देख्यौं। हेलिकप्टर रूखमा ठोक्किएर तल खसेजस्तो देखिन्थ्यो। हामी पुग्दा हेलिकप्टर टुक्राटुक्रा भएको थियो। त्यसबाहिर दुई जना महिला ढलेको देख्यौं। उनीहरू विदेशीजस्ता देखिन्थे।
वरपर अन्य शवहरू भने क्षतविक्षत अवस्थामा थिए। कसैको हातखुट्टा काटिएको थियो। कसैको टाउकै थिएन।
त्यसपछि प्रहरीहरू पनि आउनुभयो। अरू जना पनि आइपुग्नुभयो। अहिले शव संकलनको काम भइरहेको छ।
(शेर्पासँग सेतोपाटीका सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)